नाइमा मोबिलिटी एक्स्पो २०२६: तयारी अन्तिम चरणमा, ५५ भन्दा बढी ब्रान्ड र नयाँ मोडलका गाडी मुख्य आकर्षण
काठमाडौं : ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ एक्स्पो सुरु हुन दुई दिन मात्र बाँकी रहँदा सहभागी विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ।
नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठका अनुसार व्यवस्थापन पक्ष तथा विभिन्न प्रदर्शकका तर्फबाट स्टल निर्माणलगायतका कामहरू युद्धस्तरमा भइरहेका छन्। हालसम्म एक्स्पोमा राखिने स्टलहरूको करिब ५० देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।
‘तयारी अब जोडतोडका साथ भइरहेको छ। व्यवस्थापन पक्ष र एक्जिबिटरहरूको साइडबाट पनि आ–आफ्नो स्टल तीव्र गतिमा तयार गर्ने काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘अहिलेको तयारी र प्रगति हेर्दा समयभन्दा अगाडि नै सबै स्टलहरू तयार भएर पूर्ण रूपमा आगन्तुकलाई स्वागत गर्न रेडी हुनेछौँ भन्ने आशा राखेका छौँ।’
पार्किङ व्यवस्थापनमा विशेष ध्यान
यस पटकको एक्स्पोमा आउने आगन्तुकहरूको सहजताका लागि पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिइएको आयोजकले जनाएको छ। भृकुटीमण्डप परिसरमा रहेको पार्किङलाई व्यवस्थित गर्नुका साथै भृकुटीमण्डप एक्जिबिसन एरियाको पारिपट्टि रहेको नेपाल पुलिस क्लबको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याइएको छ। यसले गर्दा पार्किङको समस्या पहिलेभन्दा धेरै हल हुने अपेक्षा गरिएको छ।
५५ भन्दा बढी ब्रान्ड र नयाँ मोडलहरूको आकर्षण
गत वर्षको पहिलो संस्करणको सफलतालाई निरन्तरता दिँदै आयोजना गरिएको यस दोस्रो संस्करणमा विभिन्न ५५ वटा ब्रान्डका सवारीसाधनहरू प्रदर्शनीमा राखिनेछन्। त्यसमध्ये करिब ४० वटा नयाँ मोडलका गाडी तथा मोटरसाइकलहरू पहिलो पटक सार्वजनिक तथा लन्च हुनेछन्।
आगन्तुकहरूलाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक पाउन सकिने व्यवस्था मिलाइएको श्रेष्ठले बताए। यसका साथै, सवारीसाधनको अवलोकनसँगै खानपिन तथा मनोरञ्जनका लागि विभिन्न फुड कोर्ट तथा बेभरेज एक्सपिरियन्सको समेत व्यवस्था गरिएको छ, जसले पारिवारिक वातावरण प्रदान गर्नेछ।
अटोमोबाइल क्षेत्रका विद्यार्थी, इन्थुजियास्ट तथा सरोकारवालाहरूलाई लक्षित गर्दै सवारीसाधनको प्रदर्शनी तथा नयाँ मोडलको लन्चिङसँगै उद्योगसम्बन्धी ज्ञान तथा सूचना आदानप्रदानका कार्यक्रमसमेत सञ्चालन हुनेछन्।
गत वर्ष आयोजित पहिलो संस्करणमा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेकोमा यसपटक त्यसभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको छ।
साउन २४, २०८३ आइतबार २०:२५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।