‘सिंहदरबार’को नाम फेरेर ‘अनामनगर दरबार’ राख्न हरि ढकालको प्रस्ताव
ललितपुर : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राजनीतिक नेतृत्व अनुशासित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन्।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आइतबार ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’मा उनले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव समेत गरे।
ढकालले शासन सत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताए। “पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन सक्दैन,” उनले भने, “सुशासन कायम गर्ने जिम्मेवारी बोकेका पदाधिकारी र निकाय अनुशासनमा रहेनन् भने सुशासन कायम हुन सक्दैन।”
ढकालले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासन सत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताए।
कार्यक्रममा उनले सिंहदरबारको नाम समेत परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने धारणा राखे। राजनीतिक परिवर्तनसँगै विभिन्न निकायको नाम फेरिए पनि सिंहदरबारको नाम यथावत् रहनु असान्दर्भिक भएको उनको टिप्पणी छ। ले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ वा अन्य कुनै सान्दर्भिक नाम राख्नु उपयुक्त हुने बताए ।
"परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, एयरपोर्टहरूका नाम परिवर्तन भए," उनले भने, "न हामीसँग सिंह छ, हामीसँग सिंह छैन, त्यो सिंहदरबार भन्ने नाम चाहिँ परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला, त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा, हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ।"
साउन २४, २०८३ आइतबार १४:३४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।