अदुवाको मूल्य बढेपछि इलामका किसान उत्साहित, खेतीको क्षेत्रफल बढाइयो

अदुवाको मूल्य बढेपछि इलामका किसान उत्साहित, खेतीको क्षेत्रफल बढाइयो

इलाम : अदुवाको बजार मूल्यमा आएको सुधार र राम्रो आम्दानीका कारण इलामका किसानहरू व्यावसायिक अदुवाखेती विस्तारमा लागेका छन्। गत वर्ष उत्पादित अदुवाले उचित मूल्य पाएपछि यस वर्षमा किसानहरूले खेतीको क्षेत्रफल बढाएका हुन्।

माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष पाँच रोपनी जमिनमा ९० मन अदुवा उत्पादन गरी तीन लाख १५ हजार रुपैयाँ आम्दानी गरे। प्रतिमन (४० किलो) चार हजार पाँच सय रुपैयाँका दरले अदुवा बिक्री गरे। उनले २० मन बीउ राखेर बाँकी बिक्री गरेका थिए।

यस वर्ष पनि २० मन बीउ रोपेका लिम्बूले १२० मन उत्पादन हुने र मूल्य पोहोरकै जस्तै रहे पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन्।  उनले भने, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु।”

सोही ठाउँका राजकुमार राईले पनि गत वर्ष ५० मन अदुवा चार हजार रुपैयाँ प्रतिमनका दरले बेचेर दुई लाख रुपैयाँभन्दा बढी कमाए। अदुवाको आम्दानीले नै घरखर्च र छोराछोरीको पढाइ धान्दै आएका राईले यस वर्ष खेती बढाएर २० मन बीउ रोपेका छन्।

यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ। “परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,” उनले भने, “यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ।”

यस्तै, माङसेबुङ–३ का तेजु राईले १० रोपनी जमिनमा ६० मन अदुवा रोपेर व्यावसायिक खेती सुरु गरेका छन्। अदुवाबाट सोचेजस्तै आकर्षक आम्दानी हुन थालेपछि जिल्लाका धेरैजसो किसानहरू धान तथा अन्य खाद्यान्न बाली छाडेर अदुवाखेतीतर्फ मोडिएका छन्।

अदुवाको मुख्य उत्पादनका बेला प्रतिमन चार हजार ५०० रुपैयाँसम्म पुगेको भाउ हाल ‘माउ अदुवा’ का लागि प्रतिमन सात हजार रुपैयाँसम्म पुगेको छ। झापाको धुलाबारीमा माउ अदुवा प्रतिमन सात हजार रुपैयाँ र इलाममा ६ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले जानकारी दिए। उनले भने, “बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ।”

यहाँका किसानहरूले मुख्यगरी ठूलो (भैँसे), मझौला र साना गरी तीन प्रकारका अदुवा खेती गर्दै आएका छन्। भदौसम्म माउ अदुवाको बिक्री हुने गर्छ भने मुख्य अदुवाको उत्पादन कात्तिकदेखि जेठसम्म हुने गर्दछ।

कृषि ज्ञान केन्द्रका अनुसार इलाममा हाल तीन हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा ५० हजार छ सय २० मेट्रिक टन अदुवा उत्पादन भएको थियो।

इलाममा उत्पादित अदुवा स्थानीय बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायतका बजार क्षेत्रमा बिक्री हुने गरेको छ।

साउन २४, २०८३ आइतबार १०:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।