सात महिनामा सकिनुपर्ने दुई किमी सडक दुई वर्ष बित्दा पनि अधुरै
बागलुङ : राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको सडक खण्ड सात महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि दुई वर्ष बित्न लाग्दा अझै अलपत्र अवस्थामा छ।
निर्माण व्यवसायी एचसिबीजिसीएस कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन।
दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो।
सडक डिभिजन कार्यालयअन्तर्गत ठेक्कामा लगाइएको उक्त सडकमा बेस र कालोपत्र गर्न अझै बाँकी छ। छ करोड ७२ लाख ६५ हजारमा ठेक्का सम्झौता गरेर एचसिबीजिसीएस कम्पनीले काम गरे पनि अझै सम्पन्न गर्न नसकेको हो।
विसं २०८२ भदौ १५ मा काम नसकिएपछि पहिलो पटक २०८३ असार मसान्तसम्म म्याद थपिएकामा उक्त समयमा समेत काम नसक्दा सरकारको खरिद संशोधनअन्तर्गत नै २०८३ असोज मसान्तसम्म म्याद थपिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णु लामिछानेले जानकारी दिए।
सडक निर्माणको दुई वर्ष बित्नै लाग्दा समेत ८० प्रतिशत भौतिक प्रगति रहेको छ। “तत्कालका लागि १२ मिटर चौडाको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल लगाउने र कल्भर्ट बनाउने र सवबेस बनाउने काम सकिएको छ, निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काम गर्न ढिलाइ गरेकाले अब बेस र कालोपत्रको काम मात्रै बाँकी छ”, इन्जिनियर लामिछानेले भने।
अस्फाल्ट कङ्क्रिटबाट सडक कालोपत्र गरिने तयारी छ। अस्फाल्ट कङ्क्रिटबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र बर्सेनि सडक मर्मत र खाडल पुर्नुपर्ने झन्झटबाट केही हदसम्म मुक्ति मिल्ने लामिछानेको भनाइ छ।
निर्माण कम्पनीका प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मृल्यवृद्विले कालोपत्रको काम गर्न नसकिएको बताए। सडक संरचनाको सबै काम सकिएकाले थपिएको समयमा पर्याप्त मजदुर र उपकरण प्रयोग गरेर कालोपत्रको काम सम्पन्न हुने श्रेष्ठको भनाइ छ।
सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो। लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुन सकेको थिएन।
सर्वोच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको थियो। सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ।
साउन २४, २०८३ आइतबार ०७:२६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।