देशमा अराजकताको जोखिम औँल्याउँदै डा. राउतले भने : ‘कुर्सीमा बस्नुस्, तर संविधानअनुसार चल्नुस्’
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले देश अराजकतातर्फ धकेलिने जोखिम औँल्याउँदै नागरिकमा आशा र भरोसा जगाउन विभिन्न राजनीतिक शक्तिहरू मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको बताएका छन्।
काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभामा उनले जिम्मेवार नेतृत्वको अभाव रहेको अवस्थामा वैकल्पिक शक्तिहरूको एकीकृत मोर्चा आवश्यक भएको बताए। सत्ता प्राप्ति वा कुर्सी खोस्ने उद्देश्यले मोर्चा गठन नगरिएको उनको भनाइ छ।
"कुर्सी खोस्नका लागि यो मोर्चा बनेको होइन," राउतले भने, "कुर्सीमा बस्नुस्, तर संविधानअनुसार चल्नुस्।" प्रजातान्त्रिक आन्दोलनदेखि समाजवादी आन्दोलनसम्म योगदान दिएका विभिन्न विचारधारा र पृष्ठभूमिका राजनीतिक योद्धाहरू मोर्चामा एकीकृत भएको उनले बताए।
लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक तथा क्रान्तिकारी विचारधारालाई एक ठाउँमा ल्याएर जनताको आशामा खरो उत्रने उद्देश्यले मोर्चा गठन गरिएको उनले स्पष्ट पारे। राउतले अग्रगामी मोर्चा कुनै एक जात, समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण नेपाली जनताको भएको दाबी गरे।
"हामी यहाँ सबै देशको हितका लागि, जनताको आशा पूरा गर्नका लागि जम्मा भएका छौं," उनले भने, "सम्पूर्ण नेपाली जनता, सबै जातजाति, समुदाय र वर्गको मोर्चा हो।" विगतमा पार्टी तथा राजनीतिक मोर्चा सञ्चालनका क्रममा आफूहरूबाट कमजोरी भएको हुनसक्ने स्वीकार गर्दै राउतले त्यसको समीक्षा गरी आगामी दिनमा सुधारसहित अघि बढ्नुपर्ने बताए।
पार्टी सञ्चालन, जनतामाझ जाने तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरीलाई सच्याउँदै नयाँ प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
साउन २३, २०८३ शनिबार १८:४०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।