देश संविधानभन्दा बाहिरबाट चलिरहेको उपेन्द्र यादवको आरोप
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान र विधिको स्थापित प्रक्रियालाई लत्त्याउँदै मुलुक सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित 'अग्रगामी मोर्चा' घोषणा सभामा उनले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा देश सर्वसत्तावादतर्फ धकेलिएको टिप्पणी गरे। संविधान संशोधन गरी मुलुकलाई संविधान, विधि र प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
यादवले भने, "अहिले संविधानभन्दा बाहिरबाट, असंवैधानिक ढंगले देश चलिराखेको छ। तसर्थ हामीले मुलुकमा संविधान संशोधन गर्ने र संविधान, विधि र प्रक्रियाबाट मुलुकलाई सञ्चालन गर्नेगरी राज्य परिचालन गर्नुपर्छ।" मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार र कमजोर शान्ति सुरक्षाका कारण आम नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ छ।
मुलुकको आर्थिक अवस्था जर्जर बनेको उल्लेख गर्दै उनले राजनीतिक अन्योलले मूलक अनिश्चिततातर्फ धकेलिएको दाबी गरे। यादवले भने, "आज मुलुकमा न सुशासन छ, न भ्रष्टाचार घटेर गएको छ। न शान्ति सुरक्षा नै। आर्थिक रूपले जर्जर हुँदै राजनीतिक रूपमा अन्योल र अनिश्चिततातिर मुलुक गएको छ।"
राज्यका वैधानिक निकाय र मन्त्रालयहरूले समेत स्वतन्त्र रूपमा काम गर्न नपाएको उल्लेख गर्दै उनले राज्यका सबै शक्ति एकै ठाउँमा केन्द्रित हुनुले अधिनायकवादलाई जन्म दिने र त्यसले लोकतान्त्रिक मूल्य-मान्यता समाप्त पार्ने बताए।
"हिजो जसरी सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाएर मुलुकको स्वाधीनतामाथि धावा बोले भन्ने जुन अनुभूति भएको छ, आज आएर सारा शक्ति, सत्ताका शक्तिहरू एक ठाउँ केन्द्रित हुँदै भएका छन्," उनले भने, "वैधानिक निकाय, यहाँसम्म कि मन्त्रालयहरूले पनि स्वतन्त्र रूपमा काम गरेका छैनन् एकै ठाउँबाट निर्णय हुनु र एकै ठाउँमा शक्ति केन्द्रित हुनु सर्वसत्तावादको जन्म हुनु हो। सर्वसत्तावादले अधिनायकवादलाई जन्माउँछ। अधिनायकवादले लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पार्छ।"
राजनीतिक असमानता, आर्थिक शोषण र सामाजिक विभेदमा परेका नागरिकलाई समान अधिकार, अवसर र सम्मान दिलाउनु नै 'अग्रगामी मोर्चा'को मुख्य लक्ष्य रहेको यादवले बताए। उनले मुलुकलाई लोकतान्त्रिक प्रक्रियाबाट अघि बढाउन सबै अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
साउन २३, २०८३ शनिबार १७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।