कांग्रेसका पूर्व सभापति देउवा स्वदेश फर्किने समय फेरियो, विमानस्थलमा भब्य स्वागतको तयारी

कांग्रेसका पूर्व सभापति देउवा स्वदेश फर्किने समय फेरियो, विमानस्थलमा भब्य स्वागतको तयारी

काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पूर्वनिर्धारित समय परिवर्तन गरी साउन २८ गते मात्र स्वदेश फर्किने भएका छन्। 

यसअघि २६ साउनको राति फर्किने तय भए पनि स्वागतका लागि उपयुक्त समय मिलाउन उनको स्वदेश फर्किने समय परिवर्तन गरिएको हो। 

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा हङकङबाट साउन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। 

यसअघि साउन २६ गते राति ९:४५ बजे अवतरण गर्ने तालिका रहे पनि रातिको समयमा नेता-कार्यकर्तालाई स्वागत गर्न असहज हुने भएपछि समय हेरफेर गरिएको बताइएको छ। 

जनेजी आन्दोलनको क्रममा घाइते भएका देउवा गत फागुन १३ गते उपचारका लागि पत्नी आरजु राणा देउवासहित सिंगापुर गएका थिए। उनीहरू त्यहाँबाट थप उपचारका लागि हङकङ पुगेका थिए। उनी झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किन लागेका हुन्। 

देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरू उपस्थित हुने तयारी भइरहेको छ। स्वदेश फर्किएको भोलि पल्ट साउन २९ गते उनी पक्षीय नेताहरूको काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। 

उक्त भेलाको तयारीका लागि पूर्व महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ। 

साउन २३, २०८३ शनिबार १७:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।