आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा, दल एकै ठाउँमा उभिए उपेन्द्रदेखि सीके राउतसम्म

आठ दल मिलेर ‘अग्रगामी मोर्चा’ घोषणा, दल एकै ठाउँमा उभिए उपेन्द्रदेखि सीके राउतसम्म

काठमाडौं : संविधान संशोधन, संघीयता सुदृढीकरण, समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दालाई अघि बढाउने उद्देश्यसहित जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका ८ राजनीतिक दलले शनिबार काठमाडौंमा ‘अग्रगामी मोर्चा’ घोषणा गरे।

काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा साझा अवधारणा पत्र पनि सार्वजनिक गरियो। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माद्वारा सार्वजनिक गरिएको अवधारणा पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हस्ताक्षर गरेका छन्।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि मोर्चाको अवधारणा पत्रमा हस्ताक्षर गरेका छन्।

संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा जटिलता देखिएको निष्कर्ष निकाल्दै मोर्चाले संविधानको संशोधन, परिमार्जन वा पुनर्लेखनको आवश्यकता औँल्याएको छ। विशेषगरी मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला र मुस्लिम लगायतका सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने मोर्चाको मुख्य उद्देश्य रहेको छ।

अवधारणा पत्रमा राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै प्रदेशलाई स्वायत्त र संघमा ‘साझा शासन’को सिद्धान्त अवलम्बन गर्नुपर्ने उल्लेख छ। यस्तै, स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकारभित्र राखी आवश्यक अधिकार र स्रोत उपलब्ध गराउनुपर्ने र न्याय प्रणालीमा सुधार ल्याउनुपर्ने माग मोर्चाले राखेको छ।

मोर्चाको नेतृत्व निश्चित अवधिका लागि आलोपालो प्रणालीमा हुनेछ। निर्णय प्रक्रियामा सकेसम्म सर्वसम्मति र सहमति नभएमा लोकतान्त्रिक विधि अपनाइने जनाइएको छ। घटक दलहरूले मोर्चाको निर्णय विपरीत गतिविधि गर्न नपाउने र राष्ट्रिय महत्त्वका राजनीतिक तथा आर्थिक मुद्दामा साझा धारणा बनाएर निर्वाचन एवं जनजीविकाका आन्दोलनमा संयुक्त रूपमा सहभागी हुने प्रतिबद्धता गरिएको छ।

साउन २३, २०८३ शनिबार १६:२५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।