‘मिस युनिभर्स नेपाल २०२६’को अडिसन काठमाडौंमा सम्पन्न
काठमाडौं : ‘दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६’को ग्रान्ड अडिसन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
ग्लोबल ग्ल्यामर भेन्चर प्रा.लि. को आयोजना र विद्युतीय सवारी ब्रान्ड 'दिपल' को शीर्ष प्रायोजनमा आयोजित अडिसनमा देशभरका विभिन्न क्षेत्रबाट आएका ६५ जना प्रतिस्पर्धीहरूले सहभागिता जनाएका छन्।
सहभागी ६५ जनामध्येबाट उत्कृष्ट २५ जना प्रतिस्पर्धीहरू अर्को चरणका लागि छनोट हुने आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगिता ‘Perfect As You Are’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ, जसले युवतीहरूलाई आफ्नो मौलिक पहिचान र आत्मविश्वासलाई आत्मसात् गर्न प्रेरित गर्दछ।
अडिसनका क्रममा दिपलका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफू जस्तो हुनुहुन्छ त्यही रूपमा आत्मविश्वासका साथ अघि बढ्नु नै वास्तविक सुन्दरता भएको बताए।
त्यस्तै, मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले यस मञ्चले युवतीहरूमा सकारात्मक परिवर्तन ल्याउनुका साथै उनीहरूलाई आफ्नो प्रतिभा देखाउने र सफल करियर निर्माण गर्ने अवसर प्रदान गर्ने बताइन्।
अडिसनपछि मूल्याङ्कन गरी केही दिनमै अन्तिम २५ प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिनेछ। प्रतियोगिताको अन्तिम विजेताले अन्तर्राष्ट्रिय मञ्च ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
साउन २३, २०८३ शनिबार ११:४९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।