फिफा अध्यक्ष इन्फान्टिनोमाथि प्रेमिकालाई पैसा बाँडेको आरोप, भुक्तानी भएको युईएफएको पुष्टि

फिफा अध्यक्ष इन्फान्टिनोमाथि प्रेमिकालाई पैसा बाँडेको आरोप, भुक्तानी भएको युईएफएको पुष्टि

एजेन्सी : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनो नयाँ विवादमा तानिएका छन्।

बेलायती पत्रिका ‘डेली टेलिग्राफ’को अनुसन्धान अनुसार उनी युरोपेली फुटबल महासङ्घ (युईएफए) को महासचिव छँदा उनकी प्रेमिकालाई जागिर छोड्ने क्रममा ठूलो रकम भुक्तानी गरिएको खुलासा भएको छ।

यद्यपि, फिफा अध्यक्ष इन्फान्टिनोले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै आधारहीन भनेका छन्।

‘डेली टेलिग्राफ’का अनुसार सन् २००९ देखि २०१६ सम्म युईएफएको महासचिव रहँदा विवाहित इन्फान्टिनोसँग सम्बन्धमा रहेकी एक महिलालाई युईएफएले ‘छ अंक’को भुक्तानी दिएको थियो।

युईएफएले ती महिलालाई रकम भुक्तानी गरिएको पुष्टि गरेको छ। युईएफएका अनुसार उक्त भुक्तानीमा ती महिलालाई स्थानीय बिजनेश स्कूलमा एमबीए पढ्नका लागि लागेको शुल्क समेत समावेश थियो। युईएफएले तत्कालीन नियम अनुसार नै उक्त रकम दिइएको र हाल त्यस्ता नियमहरू थप कडा पारिएको स्पष्ट पारेको छ।

इन्फान्टिनोका तर्फबाट फिफाका प्रवक्ताले यी आरोपहरूलाई कडा शब्दमा अस्वीकार गरेका छन्।

‘फिफा अध्यक्ष जियानी इन्फान्टिनो यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्नुहुन्छ। यी सम्पूर्ण आरोप असत्य र भ्रामक छन्,’ प्रवक्ताले भनेका छन्, ‘युईएफए वा फिफामा कहिल्यै पनि इन्फान्टिनोको व्यवहारलाई लिएर कुनै उजुरी परेको छैन, किनकि त्यस्तो कुनै घटना नै भएको थिएन।’

विश्वकपका केही शेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनाका कारण पहिले नै राजीनामाको दबाब झेलिरहेका ५६ वर्षीय इन्फान्टिनोका लागि यो नयाँ खुलासाले थप सङ्कट निम्त्याएको छ।

उक्त विवादित प्रस्तावका लागि इन्फान्टिनोले माफी मागिसकेका छन् तर राजीनामा भने दिएका छैनन्।

यसैबीच नर्वे फुटबल संघले उनको राजीनामा माग गरेको छ भने इङ्गल्यान्डको फुटबल एसोसिएसनले पनि इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिएको छ। युरोपेली टोलीहरूले फिफाका आगामी प्रतियोगिताहरू बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन्।

यद्यपि, दक्षिण अमेरिकी फुटबल महासङ्घ (कन्मेबोल), अफ्रिकी फुटबल महासङ्घ (क्याफ) तथा विश्वकप आयोजक मेक्सिको र अर्जेन्टिनाले भने अझै पनि इन्फान्टिनोलाई नै समर्थन गरिरहेका छन्।

साउन २३, २०८३ शनिबार ११:०१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।