पाँच रुग्ण सार्वजनिक संस्थान तङ्ग्रिन थालेको प्रधानमन्त्रीको दाबी
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले वर्षौंदेखि घाटा, बन्द र निराशामा जेलिएका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारका आशालाग्दा परिणाम देखिन थालेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक संस्थानहरूको पछिल्लो प्रगति विवरण प्रस्तुत गर्दै उनले सरकारको सफा नियत, इमान्दार प्रयास र टिमवर्कका कारण रुग्ण उद्योगहरू पुनः जीवित बन्न थालेको दाबी गरेका हुन्।
‘वर्षौंदेखि बन्द रहेका र घाटामा थलिएका राष्ट्रिय उद्योग तङ्ग्रिएलान् कि नतङ्ग्रिएलान् भन्ने शङ्का अस्वाभाविक थिएन,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘तर नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता देखाइएपछि जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्दा रहेछन्।’
प्रधानमन्त्रीका अनुसार हाल सुधारका संकेतमा देखिएका पाँच प्रमुख संस्थान र तिनको प्रगति विवरण यस्तो छ:
नेपाल औषधि लिमिटेड: ३० करोड बिक्रीको लक्ष्य
वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले डब्ल्यूएचओको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ। पछिल्लो ४ महिनामा मात्रै कम्पनीले २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
साथै, सरकारको १०० दिने शासकीय सुधार कार्यसूचीअन्तर्गत आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोहीअनुरूप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्यमध्ये २५ प्रकारका औषधिको उत्पादन अन्तिम चरणमा पुगेको छ। हाल कम्पनीबाट ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।
हेटौँडा कपडा उद्योग: परीक्षण उत्पादन सुरु
लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगका तान (लुम) मर्मत गरी परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। मर्मतपछि परीक्षणका रूपमा कपडा उत्पादन सुरु भइसकेको छ। परीक्षण सफल भएपछि यसलाई नेपाल सरकार आफैँले सञ्चालन गर्ने योजना बनाएको छ।
नेपाल वायुसेवा निगम: राजस्व र अकुपेन्सीमा वृद्धि
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा निगमको सीट अकुपेन्सी ६ प्रतिशतले बढेर ८६ प्रतिशत पुगेको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको जहाज खरिद ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्तासमेत भुक्तानी गरेको छ।
दुग्ध विकास संस्थान (डीडीसी): किसानको बक्यौता घट्यो, निर्यातको तयारी
डीडीसीले किसानको ८ महिनादेखि रोकिएको बक्यौता भुक्तानी (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारेको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ थप प्रोत्साहन रकम दिन थालिएको छ।
सुधारपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेर औसत दैनिक राजस्व संकलन ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। विगतदेखि नियमविपरीत कर्मचारीलाई बाँडिँदै आएको घ्यू र दूधको सुविधा कटौती गर्दा वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत भएको छ। संस्थानले चाँडै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्न लागिएको छ।
सिंहदरबार वैद्यखाना: उत्पादन र कारोबार चार गुणाले बढ्यो
वर्तमान सरकार गठन भएपछि सिंहदरबार वैद्यखाना विकास समितिले ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ। गत आवमा वैद्यखानाको कारोबार १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी हो।
हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको वैद्यखानाले चालु आवमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले निःशुल्क वितरण गर्ने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भरतातर्फ अघि बढेको छ। यस वर्ष ट्याब्लेट र पाउडर उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने र प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ।
साउन २३, २०८३ शनिबार ०९:२३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।