पार्टी राजनीतिमा देउवा पुनः सक्रिय! कांग्रेस असन्तुष्ट पक्षको भेलालाई सम्बोधन गर्ने तय
काठमाडौं : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलालाई पार्टीका पूर्व सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिए।
जेनजी आन्दोलनको क्रममा घाइते भएपछि उपचारका लागि गत फागुनमा विदेश गएका देउवा साउन २६ गते साँझ हङकङबाट स्वदेश फर्किँदै छन्। उनी फर्किए लगत्तै हुन लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको छ।
जेनजी आन्दोलन भएपछि तत्कालीन पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यभार सुम्पेका उनी पार्टीका कुनै पनि समूहको सार्वजनिक कार्यक्रममा खुला रूपमा सहभागी भएका थिएनन्। तर, पार्टीमा बढ्दो संकटका बीच उनी पुन आफ्नो समूहको भेलामा सक्रिय हुने भएका छन्।
काठमाडौंमा हुने असन्तुष्ट समूहको भेलाले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकता र भावी कार्यदिशा तय गर्ने कोइरालाको भनाइ छ।
उनले भने, "मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ।"
कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै उनले त्यसबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे।
उनले भने, "पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति दिएको निर्णयको हामी स्वागत गर्छौं। सर्वोच्च अदालतबाट हुने पुनरावलोकनबाट न्याय प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं।"
देउवा स्वदेश फर्किने क्रममा राज्यका तर्फबाट कुनै धरपकड नहुने उनको विश्वास छ। उनले भने, "उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। तर यदि त्यस्तो भइहाल्यो भने हामी त्यसको विरोध गर्छौं।"
पार्टीको असन्तुष्ट समूहको यस भेलामा छुट्टै समूहको नेतृत्व गरिरहेका नेता शेखर कोइरालाको पनि समर्थन रहेको उनको भनाइ छ। कोइरालाले भने, "शेखर दाइ विराटनगरमा घर निर्माणको काममा व्यस्त हुनुहुन्छ, त्यसैले उपस्थित हुन सक्नुभएन। तर उहाँको पनि यो राष्ट्रिय भेलाप्रति पूर्ण समर्थन छ।"
भेला आयोजक समितिका संयोजक कोइरालाद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका नेता पूर्णबहादुर खड्काको उपस्थिति थिएन। उनको स्वास्थ्य अवस्था राम्रो नभएकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको कोइरालाले जानकारी दिए।
साउन २२, २०८३ शुक्रबार २१:५२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।