‘नो लाइन, ओनली अनलाइन’को चुनावी नारा सम्झँदै रास्वपा सांसदको आक्रोश : ‘मेरै गाला, मेरै चड्कन!’
काठमाडौं : चुनावमा गरेको वाचाअनुरूप सरकार गठन भएको चार महिना कट्दासमेत सरकारी कार्यालयहरूमा सेवाग्राहीको लाइन नहटेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले समेत सरकारको आलोचना गर्न थालेका छन्।
सरकारले सार्वजनिक सेवालाई लाइनबाट अनलाइनमा रूपान्तरण गर्ने विषय आफ्नो सय दिने कार्यसूचीमै समावेश गरी काम भइरहेको दाबी गरे पनि नागरिकले सास्ती भोग्ने क्रम रोकिएको छैन। राहदानी विभाग र सरकारी अस्पतालदेखि पछिल्लो समय ग्यास डिपोहरूमा समेत सर्वसाधारणले लामो लाइन बस्नुपर्ने बाध्यता छ।
विशेष गरी केही दिनयता देखिएको ग्यास अभावको समस्यापछि रास्वपाका सांसदहरूलाई समेत निर्वाचनका बेला जनतासँग गरेका वाचाहरू आफ्नै सरकारलाई स्मरण गराउनु परेको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद रमेश प्रसाईं सार्वजनिक सेवा प्रवाहमा देखिएको बेथिति र नागरिकले भोग्नुपरेको सास्तीलाई लिएर चर्को सुनिए।
निर्वाचनका ताका गरिएका प्रतिबद्धता अनुरूप सरकारले काम गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे। निर्वाचनका क्रममा सरकारी कार्यालयहरूलाई लाइनमुक्त बनाउने र सबै सेवा अनलाइनमार्फत दिने भनी गरिएका भाषणहरू स्मरण गर्दै प्रसाईंले अहिलेको आफूलाई लाज लागिरहेको बताए।
"म कहिलेकाहीँ कन्फ्युज हुन्छु। कसलाई के भनौं। मेरै गाला, मेरै चड्कन," उनले भने, "मैले चुनावताका भाषणहरू सम्झिदा- जहाँ हामी सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा ओनली अनलाइन भनेर आफैले गरेका भाषण सम्झिदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।"
देशभर देखिएको खाना पकाउने ग्यासको अभाव भइरहँदा प्रधानमन्त्री र मन्त्रीका निवासमा ग्यासको अभाव छ कि छैन भनेर प्रश्न गरे। नागरिकले ग्यासको अभाव भोग्नुपर्ने अवस्था कसरी आयो भनी प्रश्न गर्दै उनले यदि ग्यासको कृत्रिम हो भने कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न करिब दुई तिहाइको सरकारलाई केले रोकेको छ भनेर सरकारलाई सोधे।
प्रसाईंले भनेका छन्, "जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला हेन्सम नयाँ अनुहार खोजेको होइन। नयाँ चरित्र खोजेको हो। जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।"
साउन २२, २०८३ शुक्रबार १६:५६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।