लालपूर्जा बनाउन घुस लिएको अभियोगमा पक्राउ परेका नापीका अमिन खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : जग्गाधनी पुर्जा बनाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको अभियोगमा पक्राउ परेका नापी कार्यालय चाबहिलका अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाउन सेवाग्राहीसँग एक लाख ६० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नापी कार्यालय चाबहिल अन्तर्गत २ र ३ नम्बर नापी टोली (गोकर्ण, माकलवारी) मा कार्यरत खत्रीले घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टङ्गालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
खत्रीले आफ्नो पद र ओहदाको दुरुपयोग गरी सेवाग्राहीबाट घुस लिएको देखिएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। एक लाख ६० हजार रुपैयाँ बिगो कायम गरेर दायर गरिएको मुद्दामा खत्रीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय र जरिवाना गर्न माग गरिएको छ।
साउन २२, २०८३ शुक्रबार १४:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।