ट्रान्सफर्मर चोरीले मधेस प्रदेशमा सिँचाइ प्रभावित

ट्रान्सफर्मर चोरीले मधेस प्रदेशमा सिँचाइ प्रभावित
फाइल तस्बिर

जनकपुरधाम : सिँचाइको सिजनमा मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढेपछि त्यसको प्रत्यक्ष मारमा किसान परेका छन्।

आवश्यकता परेको बेलामा विद्युत् नहुँदा समयमा सिँचाइ गर्न नपाएर किसानहरू प्रभावित भएका हुन्। कृषकले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन्। 

ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको उनको भनाइ छ। 

महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ/नौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन्। चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी कार्य भइरहेको बताए। 

साउन २२, २०८३ शुक्रबार १४:२६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।