कांग्रेस सांसदको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई रुलिङ

कांग्रेस सांसदको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं : धनुषाको ढल्केबरमा ट्रमा सेन्टर स्थापना हुनुपर्ने माग गर्दै प्रतिनिधि सभा बैठकमा दिनभर उभिएर विरोध गर्ने घोषणा गरेका नेपाली काङ्ग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको रुलिङपछि आफ्नो विरोध फिर्ता लिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजना बजेटबाट हटाइएको भन्दै आपत्ति जनाएका थिए। सोही विषयको विरोधमा उनले दिनभरि सदनमै उभिने घोषणा गर्दै आफ्नो स्थानमा उभिरहेका थिए।

सांसद यादव निरन्तर उभिएर विरोधमा उत्रिएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदनलाई मर्यादित रूपमा सञ्चालन गर्न सहयोग गर्न आग्रह गर्दै उनलाई बस्न अनुरोध गरेका थिए।

सभामुख अर्यालले भनेका थिए, ‘हामी प्रतिनिधि सभाको सभा सञ्चालन गरिरहेका छौँ। त्यसैले प्रतिनिधि सभाको मूल्य, मान्यता र मर्यादाबारे माननीय सदस्यलाई मैले भनिरहनु पर्दैन। बस्नुस् र सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सहयोग गर्नुस्।’

तर, सभामुखको आग्रहका बाबजुद सांसद यादवले ढल्केबरको ट्रमा सेन्टरको योजना काटिनुको कारणबारे अर्थ वा स्वास्थ्यमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिएसम्म नबस्ने अडान दोहोर्याइरहे।

सांसदको अडान र सदनको अवरोध टार्न सभामुख अर्यालले सो विषयमा सरकारलाई तत्काल सदनसमक्ष स्पष्टीकरण दिन रुलिङ गरे।

सभामुखले भने, ‘आजै सभामा माननीय चन्द्रमोहन यादवले राखेको विषय के हो, यसबारेमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु।’

सभामुखबाट सरकारका नाममा रुलिङ जारी भएपछि सांसद यादव आफ्नो आसनमा बसेका थिए। त्यसपछि प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा अघि बढेको थियो।

साउन २२, २०८३ शुक्रबार १४:०५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।