‘कोइराला निवास’ मर्मतका लागि विनियोजित २ करोड बजेट लिन शेखर कोइरालाको अस्वीकार
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको रु. २ करोड बजेट स्वीकार गर्न अस्वीकार गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै डा. कोइरालाले आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका हुन्।
पत्रमा डा. कोइरालाले देशका आम नागरिक अझै पनि वञ्चना, अभाव र अनेकौँ कष्टमा रहेको उल्लेख गर्दै राज्यको सीमित स्रोत र साधनको उपयोग त्यस्ता दुःखी तथा विपन्न नागरिकको उत्थानमा हुनुपर्ने धारणा व्यक्त गरे।
विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोकस्थित शेखरका बुबा कृष्णप्रसाद कोइरालाद्वारा शताब्दीअघि निर्मित उक्त ऐतिहासिक घर गत वर्ष भाद्र २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा जलाइएको थियो।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्मघरसमेत रहेको उक्त निवासको सम्झना र सम्मानमा बजेट विनियोजन गरिदिएकोमा सरकारप्रति आभार व्यक्त गर्दै डा. कोइरालाले बजेट फिर्ताको घोषणा गरेका हुन्।
पत्रमा उनले लेखेका छन्, ‘विपी सम्पूर्ण नेपालीको गाँस, बास र कपासका लागि जीवनभर सङ्घर्षरत रहनुभयो। राज्यले त्यसतर्फ समग्र रूपमा आफूलाई समर्पित गरोस्, यही नै विपीप्रतिको सच्चा श्रद्धाञ्जली र कोइराला निवासप्रतिको न्याय हुनेछ।’

साउन २२, २०८३ शुक्रबार १३:३५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।