खल्तीमा उपलब्ध भयो सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’

खल्तीमा उपलब्ध भयो सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’

काठमाडौं : आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्ताहरूलाई सहभागी गराउने व्यवस्था मिलाएको छ।

यस व्यवस्था अनुसार अब खल्तीमार्फत रु. १०० भन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ताहरू स्वतः यस उपहार कार्यक्रममा सहभागी हुनेछन्।

कार्यक्रमअन्तर्गत दैनिक एक जना विजेताले कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले रु. १० लाख प्राप्त गर्नेछन्।

खल्तीमार्फत गरिएको भुक्तानीको विवरण स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा पुग्नेछ र प्रयोगकर्ताले एपमै उपहार कुपन देख्न सक्नेछन्। विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणाली (लक्की ड्र) मार्फत विजेता छनोट गर्नेछ।

डिजिटल भुक्तानी र बिलमा आधारित कारोबारलाई प्रोत्साहन गर्दै औपचारिक अर्थतन्त्रको सुदृढीकरणका लागि यो कदम चालिएको खल्तीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको यो महत्त्वपूर्ण पहलमा सहकार्य गर्दै वित्तीय पारदर्शिता र डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन पाउँदा उत्साहित भएको बताएका छन्।

साउन २२, २०८३ शुक्रबार ११:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।