२५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार! १५ जनाले जिते १-१ लाख
काठमाडौं : उपभोक्तामा बिल लिने बानीको विकास गर्न र कर प्रणालीलाई थप प्रभावकारी बनाउन सरकारले सुरू गरेको ‘करदाता प्रोत्साहन उपहार योजना’ अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको नतिजा सार्वजनिक भएको छ।
शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा गरिएको सार्वजनिक गोलाप्रथामार्फत एक जनाले १० लाख रुपैयाँको बम्पर र अन्य १५ जनाले जनही एक-एक लाख रुपैयाँ (करकट्टी पछि) उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागका अनुसार १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित ‘शिव कृष्ण जनरल स्टोर’ बाट जम्मा २५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्तालाई परेको छ।
गत साउन ७ गते सामान खरिद गरेबापत प्राप्त ००७ ३१५ २५४ ४९३ कुपन नम्बर भएका ती उपभोक्ताले १० लाख रुपैयाँ जितेका हुन्। विजेताको थप पहिचान र आवश्यक प्रक्रिया विभागले अघि बढाइरहेको छ।
यसैगरी, साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले दैनिक उपहारस्वरूप जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (करकट्टीपछि करिब १ लाख रुपैयाँ) जितेका छन्।
१ लाख रुपैयाँ उपहार जित्ने कुपन नम्बरहरू क्रमशः ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० रहेका छन्।
यसरी सहभागी हुन सकिन्छ उपहार योजनामा
आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न यो योजना सञ्चालन गर्ने घोषणा गरेका थिए।
यस योजनाअन्तर्गत बैंक, वालेट वा क्युआरमार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरू प्रणालीमार्फत स्वतः उपहार कार्यक्रममा समावेश हुन्छन्। उनीहरूले पैसा तिरेको ‘ट्रान्जेक्सन नम्बर’ नै उपहारका लागि योग्य हुन्छ।
तर, नगद भुक्तानी गरी सामान खरिद गर्ने उपभोक्ताले भने अनिवार्य रूपमा प्यान वा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको नयाँ वेबसाइट (prize.ird.gov.np) मा गई आफ्नो बिल अपलोड गर्नुपर्नेछ। उपहार दाबी गर्नका लागि उपभोक्तासँग सक्कली बिल वा डिजिटल कारोबारको प्रमाण अनिवार्य रूपमा हुनुपर्ने विभागले जनाएको छ।
कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि मसान्तसम्मको कारोबारको) यसैगरी विजेता घोषणा गरिनेछ। जसमा हरेक दिन एक जनालाई १ लाख र १५/१५ दिनमा एक जनालाई १० लाखको बम्पर उपहार प्रदान गरिनेछ।
साउन २२, २०८३ शुक्रबार १०:३९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।