प्रतिनिधिसभा र तीन संसदीय समितिको बैठक आज बस्दै, ५ विधेयक पेस हुने
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित ५ वटा विधेयक तथा प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
संसद् सचिवालयका अनुसार बैठकमा कानुनमन्त्री सोविता गौतमले प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक’ प्रस्तुत गर्नेछन्।
यसैगरी, उद्योगमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ, परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन नियन्त्रणसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्नेछन्।
बैठकमा राज्य व्यवस्था समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस गर्नेछन्।
संसदीय समितिका बैठक पनि आजै
आजै बिहान विभिन्न तीनवटा संसदीय समितिका बैठक पनि बस्दैछन्। बिहान १०:३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘पर्यटन विधेयक’ का विषयमा विज्ञहरूसँग छलफल हुनेछ।
त्यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिमा कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी प्रतिवेदनमाथि छलफल हुँदैछ भने पूर्वाधार विकास समितिमा विद्युत् पोल व्यवस्थापन नहुँदा सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल हुने कार्यसूची छ।
साउन २२, २०८३ शुक्रबार ०७:४५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।