उपचारपछि हङकङबाट साउन २६ गते स्वदेश फर्कँदै पूर्व सभापति देउवा

उपचारपछि हङकङबाट साउन २६ गते स्वदेश फर्कँदै पूर्व सभापति देउवा

काठमाडौं : उपचारका लागि पाँच महिनादेखि विदेशमा रहेका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्। देउवा आगामी मंगलबार राति काठमाडौं ओर्लने कार्यक्रम तय भएको हो।

देउवानिकट नेता तथा पूर्व प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार हङकङबाट उनी स्वदेश फर्कन लागेका हुन्। देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए भने त्यहाँको स्वास्थ्य परीक्षण र उपचारपछि चैत ७ गते हङकङ गएका थिए।

देउवाको स्वदेश फिर्तालाई कांग्रेसको आन्तरिक राजनीतिसँग जोडेर हेर्न थालिएको छ। देउवा पक्षले पूर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। यद्यपि, देउवा उक्त भेलामा सहभागी हुने वा नहुने भन्नेबारे जानकारी दिइएको छैन।

बिपी स्मृति जयन्तीका अवसरमा एक सन्देश जारी गर्दै उनले आफू छिट्टै स्वदेश फर्कने बताएका थिए। यता सर्वोच्च अदालतले बिहीबार मात्रै कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा अघिल्लो फैसला पुनरावलोकनको अनुमति दिएको छ। 

साउन २१, २०८३ बिहीबार १७:२१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।