गगन नेतृत्वको समितिलाई झट्का, कांग्रेस आधिकारिकता विवादको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा यसअघि गरेको फैसला पुनरावलोकन गर्ने भएको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै अघिल्लो फैसला पुनरावलोकनका लागि अनुमति दिने आदेश दियो।
यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो।
उक्त फैसलामा कानुनी त्रुटि रहेको र स्थापित नजिरहरूको प्रतिकूल रहेको दाबी गर्दै देउवा र खड्काले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थिए।
सर्वोच्चको आदेशसँगै अब यस विवादमा फेरि सुनुवाइ प्रक्रिया अघि बढेको छ। अदालतले अब विपक्षी पक्ष (गगन थापा नेतृत्वको समिति र निर्वाचन आयोग) लाई सूचना पठाई पुनः बहस सुन्नेछ।
यसअघिको फैसला गर्ने न्यायाधीशहरू बाहेकको पूर्ण इजलासले गर्ने अबको सुनुवाइले कांग्रेसको आधिकारिक संस्थापन पक्ष को हुने भन्ने टुङ्गो लगाउनेछ।
साउन २१, २०८३ बिहीबार १७:०७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।