निर्मला पन्तको अनुसन्धान विवरण माग्ने सांसदलाई राष्ट्रिय सभामा गृहमन्त्रीले भने ‘अब यस्ता प्रश्न नसोध्नु होला, एसएमएस गर्नुहोला’

निर्मला पन्तको अनुसन्धान विवरण माग्ने सांसदलाई राष्ट्रिय सभामा गृहमन्त्रीले भने ‘अब यस्ता प्रश्न नसोध्नु होला, एसएमएस गर्नुहोला’

काठमाडौं : राष्ट्रिय सभा बैठकमा किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानको अवस्थाबारे प्रश्न राख्ने सांसदलाई गृहमन्त्री सुधन गुरुङले यस्ता प्रश्न संसदमा नगर्न बरु आफूलाई व्यक्तिगत रूपमा एसएमएस गरेर सोध्न भने।

उनी यतीमै मात्र रोकिएनन्, उनले प्रश्नकर्ता सांसदलाई उल्टो सोधे “हजुरहरू सत्तामा हुँदा के गर्नु भएको थियो।  अहिले आएर हामीलाई भारी बोकाउँदाखेरी...?”

मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन बिहीबार मन्त्रालय तहगत रूपमा गृहको समय राखिएको थियो। त्यही अनुसार नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले उनलाई प्रश्न सोधेका थिए “किशोरी निर्मला पन्तको जघन्य बलात्कार र हत्या प्रकरणमा दोषी पत्ता लगाएर न्याय दिन किन नसकेको? न्याय दिन नसकेको हो कि नचाहेको।”

उत्तर दिनेक्रममा गृहमन्त्री गुरुङले यो विषय संवेदनशील छ रहेको भन्दै प्रश्नकर्ता सांसदतिरै प्रश्न सोझ्याए “यो प्रश्न हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदा के गर्नु भएको थियो।  अहिले आएर हामीलाई भारी बोकाउँदाखेरी, म माननीयज्यूलाई नै प्रश्न गर्न चाहन्छु।”

उनले यस्ता प्रश्नले पन्तको आमाको घाउ कोट्याइने भन्दै पुन प्रश्न गरे “घाउ कोट्याएको कोट्याइ गर्दा तपाइको मनमा शान्ती हुन्छ होला त? राष्ट्रिय रूपमै उठाइरहनु उचित होला?”

उनले यस विषयमा धेरै बोल्न चाहन्न र सक्दिन भन्दै यो अनुसन्धानको विषय भएको र सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका बताए।

त्यसपछि उनले संसद्को रोस्टबाटै “अब यो प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यो प्रश्न नउठाउन अनुरोध” गरे। उनले यस्तो कुनै प्रश्न छ भने व्यक्तिगत रूपमा प्रश्न सोध्ने वा एसएमएस गरे  आफूले उत्तर दिने बताए।

“बारम्बार छोरीको सम्झना कोट्याइरहन मेरो नैतिकताले दिँदैन। एसएमएसबाट सोधेमा यसको विस्तृत जानकारी दिन सक्छु।”

त्यसपछि पुन सांसद विश्वकर्माले विधायिकी अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराउँदै भने ‘मैले प्रश्न गर्न पाउनु पर्छ। मन्त्रीले उत्तर दिनु पर्छ’ भन्दै पून प्रश्न सोधे ‘अनुसन्धान सुरु भएको चार महिनामा के भयो, हाम्री चेलीले कहिले न्याय पाउँछिन्?’

गृहमन्त्री गुरुङले भने “ म उत्तर दिन चाहँदिन।”

पहिलो पटक सुधन गृहमन्त्रीहुँदा नै उनले निर्मल पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान गरेर दोषी पत्ता लगाउने दाबी गरेका थिए। त्यसयता अनुसन्धानका लागि के-के भएको छ सार्वजनिक भएको छैन।

साउन २१, २०८३ बिहीबार १४:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।