मर्दी हिमाल पदयात्राबाट हराएका तीन युवक घान्द्रुक नजिकै सकुशल भेटिए
पोखरा : मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्क विहीन भएका तीन युवक सकुशल भेटिएका छन्।
बाटो बिराएर अलपत्र परेका उनीहरूलाई बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ स्थित छुमरुङवेशीमा उद्धार गरिएको छ।
पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले भने, “तीनै जना युवक सकुशल भेटिनुभएको छ, उद्धार भइरहेको छ।”
बुधबार बिहान ८ बजेदेखि उनीहरुको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए।
जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरुको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो। उनीहरुलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए।
साउन २१, २०८३ बिहीबार १२:५९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।