ग्वार्कोमा बस दुर्घटना : ४० वर्षीया जेनिशा लामाको मृत्यु, १८ जना घाइते

ग्वार्कोमा बस दुर्घटना : ४० वर्षीया जेनिशा लामाको मृत्यु, १८ जना घाइते

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमुनिको सबवेमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

प्रहरी वृत्त सातदोबाटोका प्रमुख वकिल बहादुर सिंहले दुर्घटनामा परी करिब ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको पुष्टि गरे।

‘दोलखा घर भएको ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ १८ जना घाइते छन्’, उनले उकेरासँग भने।

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस नियन्त्रण गुमाएर सबवेको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १८ जनामध्ये ९ जनाको बी एन्ड बी अस्पताल र ९ जनाको ग्वार्कोस्थित ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो।

दुर्घटनामा परेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २१, २०८३ बिहीबार ११:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।