रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

रौतहट : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार पुल नजिकै पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी भएको छ।

सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ।

अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ७८११ नम्बरको ट्याङ्कर बाटोमा अचानक आएको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

दुर्घटनालगत्तै ट्याङ्करमा आगलागी भएको थियो।

दुर्घटनाको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ (बारा) र सुरक्षा बेस सन्तपुर (रौतहट) बाट टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको हो।

आगलागीबाट पेट्रोल ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन्।

साउन २१, २०८३ बिहीबार ११:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।