इमरान खानका छोराहरूको गुनासो- ‘७ महिनादेखि बुबासँग कुरा गर्न दिइएन, भिसा पनि पाएनौँ’
एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरूले विगत ७ महिनादेखि आफ्नो बुबासँग भेट्न र कुरा गर्न नपाएको गुनासो गरेका छन्।
अमेरिकी टिभी च्यानल सीएनएनसँगको अन्तर्वार्तामा कासिम र सुलेमानले बुबाको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस्तो बताएका हुन्। उनीहरूका अनुसार पछिल्लो पटक गत मार्च महिनामा मात्र इमरानसँग फोनमा कुरा भएको थियो।
‘अदालतको आदेशअनुसार हरेक दुई हप्तामा परिवारसँग कुराकानी गराउनुपर्ने हो, तर अहिले लामो समयदेखि कुनै सम्पर्क गर्न दिइएको छैन’, उनीहरूले भनेका छन्।
छोराहरूले आफूहरूलाई पाकिस्तानको भिसासमेत नदिइएको दाबी गरेका छन्। पाकिस्तानी पासपोर्टको म्याद सकिएकाले भिसाका लागि आवेदन दिए पनि हालसम्म भिसा नपाएको उनीहरूको भनाइ छ।
इमरानमाथि कानुनविपरीत व्यवहार भइरहेको भन्दै उनीहरूले यसलाई ‘एक प्रकारको यातना’ को संज्ञा दिएका छन्।
भ्रष्टाचारको आरोपमा बुबालाई जेल हालिएको विषयमा दुखेसो पोख्दै उनीहरूले भने, ‘हामी ५/७ वर्षको हुँदादेखि नै बुबाले हामीलाई इमानदारी र भ्रष्टाचारविरुद्ध लड्न सिकाउनुभयो। आज उहाँलाई नै भ्रष्टाचारको आरोपमा जेलमा देख्नु हाम्रा लागि निकै पीडादायी छ।’
इमरानलाई जेलमा राख्नु उनका करोडौं समर्थक र मतदातामाथिको अन्याय भएको उनीहरूले बताएका छन्। साथै, रिहाइका लागि इमरान खानले सरकार वा सेनासँग कुनै पनि प्रकारको सम्झौता नगर्ने पनि छोराहरूले स्पष्ट पारेका छन्।
साउन २१, २०८३ बिहीबार ०९:५५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।