नेपालले न्युजिल्यान्ड ‘ए’ सँग ५० ओभरको क्रिकेट खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग ५० ओभरको क्रिकेट खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्युजिल्यान्डको ‘ए’ टोलीसँग ५० ओभरको खेल खेल्ने भएको छ।

न्युजिल्यान्ड क्रिकेटले अस्ट्रेलियाको नर्दन टेरिटोरिज भ्रमणका लागि घोषणा गरेको आफ्नो टोलीको खेल तालिकामा नेपालसँगको खेल पनि समावेश गरेको हो।

सार्वजनिक तालिकाअनुसार, नेपाल र न्युजिल्यान्ड ‘ए’ बीचको ५० ओभरको खेल आगामी सेप्टेम्बर ६ (आइतबार) का दिन डार्विनस्थित मारारा क्रिकेट ग्राउन्ड-२ मा हुनेछ।

नेपालसँग भिड्ने न्युजिल्यान्ड ‘ए’ टोली निकै बलियो छ। घोषित टोलीमा न्युजिल्यान्डको राष्ट्रिय टोली (ब्ल्याकक्याप्स) बाट खेलिसकेका १३ जना अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडीहरू समावेश छन्।

विशेषगरी भर्खरै वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खला जितेका क्रिस्टियन क्लार्क, म्याट फिसर, डिन फक्सक्रफ्ट, मिच हे, जेडेन लेनोक्स र बेन लिस्टर जस्ता प्रभावशाली खेलाडीहरू यो टोलीमा रहेका छन्।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी ड्यानिअल फ्लिनले सम्हालेका छन्।

न्युजिल्यान्ड ‘ए’ टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा सुरुमा अगस्ट २० देखि ३० सम्म डार्विनमा ‘टप एन्ड टी-२० सिरिज’ खेल्नेछ। त्यसपछि ५० ओभरको शृङ्खलाअन्तर्गत सेप्टेम्बर २ मा साउथ अस्ट्रेलिया, सेप्टेम्बर ४ मा तस्मानिया र आफ्नो अन्तिम खेलमा सेप्टेम्बर ६ मा नेपालको सामना गर्नेछ।

उच्चस्तरको अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरू सम्मिलित न्युजिल्यान्ड ‘ए’ सँगको यस खेलले नेपाली टोलीलाई उत्कृष्ट म्याच एक्सपोजर प्रदान गर्ने विश्वास गरिएको छ।

नेपाल विरुद्ध खेल्ने न्युजिल्यान्ड ‘ए’ टोली:
मुहम्मद अब्बास, अदी अशोक, म्याट बोयल, म्याक्स चु, क्रिस्टियन क्लार्क, जोस क्लार्कसन, म्याट फिसर, डिन फक्सक्रफ्ट, ज्याक गिब्सन, मिच हे, विभोन जेकब्स, जेडेन लेनोक्स, बेन लिस्टर, राइस मारिउ र टिम रोबिन्सन।

साउन २१, २०८३ बिहीबार ०९:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।