देशबाट लखेटिएका अफगान महिला फुटबलर, प्रतिबन्धका बावजुद ८ हजार माइल टाढा मैदानमा पुनर्मिलन
एजेन्सी : ड्रेसिङ रुममा खेलाडीहरू खेलअघिको तयारीमा व्यस्त थिए। कोही जुत्ताको तुना कस्दै थिए त कोही एकअर्कालाई अँगालो हालिरहेका थिए।
‘सधैँ झैँ बलियो बन, किनकि हामी अफगान महिलाहरूको प्रतिनिधित्व गर्दैछौँ’, मिडफिल्डर फातिमा हैदरीले साथीहरूलाई हौस्याइन्।
भित्तामा अफगानिस्तानको झन्डा फहराइरहेको थियो, पृष्ठभूमिमा देशभक्तिपूर्ण गीत बज्दै थियो।
गीत गाइरहँदा धेरै खेलाडीका आँखा रसाएका थिए। मैदानमा उत्रिनुअघि प्रशिक्षकले अन्तिम हौसला दिए- यो त्यही मैदान थियो, जहाँ उनीहरूलाई कहिल्यै नजान भनिएको थियो।

यो भावुक दृश्य न्युजिल्यान्डको हो। विश्वभर छरिएर रहेका २३ जना अफगानी महिला खेलाडीको टोली ‘अफगान वुमन युनाइटेड’ दुईवटा मैत्रीपूर्ण खेलका लागि त्यहाँ भेला भएको थियो।
गत अप्रिलमा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले उनीहरूलाई आधिकारिक रूपमा आफ्नो देशको प्रतिनिधित्व गर्न दिने ऐतिहासिक निर्णय गरेपछिको यो पहिलो पुनर्मिलन थियो।
सन् २०२१ को अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरूलाई खेलकुद, शिक्षा र रोजगारीमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।
ज्यान जोगाएर अस्ट्रेलिया, बेलायत र पोर्चुगल पुगेका यी खेलाडीहरूले लामो संघर्षपछि फिफाबाट यो मान्यता पाएका हुन्। अब उनीहरूले ओलम्पिक र विश्वकप जस्ता ठूला प्रतियोगिताका लागि छनोट खेल्न पाउनेछन्।
माटोमुनि गाडिएका ती पदक र सपना
अस्ट्रेलियामा शरणार्थी जीवन बिताइरहेकी २३ वर्षीया मनोज नूरीको कथा निकै मर्मस्पर्शी छ।
काबुलका गल्लीहरूमा केटाहरूसँग लुकेर फुटबल खेल्दै हुर्किएकी उनी पछि राष्ट्रिय च्याम्पियन बनिन्। तर, परिवार विशेषगरी दाइबाट यो कुरा लुकाउन उनी अनुहार छोपेर खेल्थिन्।
जब टिभीमा उनको अनुहार देखियो, दाइले घरबाट निकाल्ने धम्की दिए। परिवारको आर्थिक मेरुदण्ड दाइ नै भएकाले उनी केही समय फुटबलबाट टाढा भइन्, तर पछि जर्मनीमा रहेका अर्का दाइको सहयोगमा फेरि मैदान फर्किइन्।
तालिवानले सत्ता कब्जा गरेपछि देश छाड्नुअघि उनले आफ्ना मेडल र ट्रफीहरू घरको बगैँचामा खाडल खनेर गाडिन्।
‘एक दिन म फर्किनेछु र ती मेडलहरू खनेर निकाल्नेछु’, उनी मुस्कुराउँदै भन्छिन्।

फुटबलकै कारण उनले आफ्नी आमा र बहिनीलाई पनि अस्ट्रेलिया ल्याउन सफल भइन्, जसले गर्दा बहिनीले फेरि पढ्न पाएकी छन्। ‘मलाई आशा छ, अब मेरो दाइले पनि बुझ्नुभयो होला-म खराब मान्छे होइन रहेछु भनेर’, उनी भन्छिन्।
‘फुटबलले जीवन बचायो’
अस्ट्रेलियामै रहेकी २४ वर्षीया मुर्सल सादात फुटबल नभएको भए आफू पनि पढ्न र बोल्न नपाउने लाखौँ अफगान महिलाको नियति भोगिरहेको हुने बताउँछिन्।
अफगानिस्तानमा हुँदा खेल खेलेको भन्दै उनलाई ‘कसैले बिहे गर्दैन’ भनिन्थ्यो। तर, अहिले उनी अफगानिस्तानमै रहेका एक पुरुषसँग इन्गेजमेन्ट गरिसकेकी छन्, जसको परिवारले उनलाई हौसला दिन्छ।
‘उहाँहरू मलाई भन्नुहुन्छ- तिमी हाम्रो परिवारको गर्व हौ, तिमीलाई पाउनु हाम्रो भाग्य हो।’

स्वतन्त्रताको खुसी र अपराधबोधका आँसु
बेलायतमा बस्दै आएकी २२ वर्षीया डिफेन्डर नजमा अरेफीले अफगानिस्तानमा हुँदा ४५ डिग्रीको गर्मीमा पनि अभ्यास गरिन्, किनकि केटीहरूलाई खेल्नका लागि सबैभन्दा खराब समय मात्र दिइन्थ्यो। उनको टोलीले राष्ट्रिय च्याम्पियनसिप जितेपछि हेरात सहरमा महिला खेलकुदप्रतिको दृष्टिकोण नै परिवर्तन भएको थियो।
अहिले बेलायतमा ‘क्रिमिनल जस्टिस’ पढिरहेकी नजमा आफूले पाएको स्वतन्त्रता अद्भूत रहेको बताउँछिन्। तर, देशमा रहेका लाखौँ महिलाको अवस्था सम्झिँदा उनलाई अपराधबोध हुन्छ।
‘लाखौँ केटीहरू पढ्न र सपना पूरा गर्नबाट वञ्चित छन्। मलाई लाग्छ मैले पाएको यो अवसरको भरपुर सदुपयोग गर्नुपर्छ’, आँसु झार्दै उनले भनिन्।

उनले यो ऐतिहासिक फिफा मान्यता दिलाउन पहल गर्ने पूर्वखेलाडी खालिदा पोपललाई धन्यवाद दिइन्। तालिवानको स्वीकृतिबिना नै फिफाको मान्यता पाउनु आफ्ना लागि सधैँ गर्वको विषय रहेको उनी बताउँछिन्।
हारमा पनि सानदार जित
न्युजिल्यान्डको वर्षाका बीच मैदानमा उत्रिएका यी खेलाडीले कुक आइल्यान्ड्सविरुद्धका दुई खेलमा क्रमशः १-० र ३-० को हार बेहोरे। उता अफगानिस्तानमा तालिवानका खेलकुद निर्देशकले फिफाको यो कदमबारे बोल्न अस्वीकार गरेका छन्।
तर, यी महिला खेलाडीका लागि यो दुईवटा हार सामान्य थियो, किनकि उनीहरूले जिन्दगीको ठूलो युद्ध जितिसकेका थिए। वर्षौंको निर्वासन, परिवारसँगको बिछोड र अनिश्चितताका बाबजुद अफगान महिला फुटबलरहरूले आफ्नो अस्तित्व मेटिन दिएनन्।
मैदानमा खेलेरै उनीहरूले तालिवानको बन्देजविरुद्धको गतिलो जवाफ दिएका थिए।
साउन २१, २०८३ बिहीबार ०७:५८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।