पूर्व पाकिस्तानी खेलाडीहरूलाई दुई वर्षको प्रतिबन्धको चेतावनी

पूर्व पाकिस्तानी खेलाडीहरूलाई दुई वर्षको प्रतिबन्धको चेतावनी

एजेन्सी : जाम्बियामा आयोजना भइरहेको अस्वीकृत ‘एशियन लेजन्ड्स लिग’मा सहभागी भएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफ्ना पूर्व खेलाडीहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

पीसीबीबाट आवश्यक स्वीकृति नलिई प्रतियोगिता खेलेका खेलाडीहरूलाई दुई वर्षको प्रतिबन्ध लगाइने भएको छ।

जुलाई ३० देखि सुरू भएको उक्त लिगलाई जाम्बियाको आधिकारिक क्रिकेट निकाय  र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  कसैले पनि मान्यता दिएका छैनन्।

सो प्रतियोगितामा 'पाकिस्तान प्यान्थर्स' नामक टोलीबाट दर्जनभन्दा बढी पूर्व पाकिस्तानी खेलाडीहरूले भाग लिएका छन्।

नियम उल्लंघन गर्ने खेलाडीहरूमाथि पीसीबीले दुईवटा मुख्य कारबाही गर्ने जनाएको छ।

जसमा वैदेशिक क्रिकेट लिगहरूमा भाग लिनका लागि दुई वर्षसम्म कुनै पनि एनओसी नदिइने तथा पाकिस्तान सुपर लिगमा कुनै पनि किसिमको प्रशिक्षक, मेन्टर, सल्लाहकार वा अन्य जिम्मेवारी पाउनबाट वञ्चित गरिने उल्लेख छ।

नखेली फर्किए हफिज र अकमल
प्रतियोगिता खेल्न जाम्बिया पुगेका मोहम्मद हफिज, सोहेल तनवीर र उमर अकमलजस्ता चर्चित खेलाडीहरूले भने लिगले आइसिसीको स्वीकृति नपाएको थाहा पाएपछि नखेल्ने निर्णय गरेका थिए।

तर, सर्जिल खान, कामरान अकमल, इमरान नजिर, सहिद अजमल र यासिर शाहलगायतका अन्य पूर्व खेलाडीहरूले भने प्रतियोगितामा भाग लिएका छन्।

उक्त प्रतियोगितामा भारत, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानका पूर्व खेलाडीहरू समावेश भएका अन्य टोलीहरू (जस्तै: इन्डियन रोयल्स, श्रीलङ्कन लायन्स आदि) पनि छन्।

तर, गैरकानुनी लिग खेलेको भन्दै आफ्ना खेलाडीमाथि कारबाहीको चेतावनी दिने पिसिबी मात्र एक मात्र क्रिकेट बोर्ड बनेको छ।

पिसिबीले खेलको मर्यादा जोगाउन र आइसिसीको नियम पालना गराउन आफ्ना सबै वर्तमान तथा पूर्व खेलाडीहरूले वैदेशिक लिग खेल्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने पुनः स्पष्ट पारेको छ।

साउन २०, २०८३ बुधबार ११:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।