धेरैलाई स्टार बनाएका नीर शाह आफ्नो फिल्म 'कमला मिस'को प्रिमियरमा एक्लो; रित्तो हल, खल्लो माहोल

धेरैलाई स्टार बनाएका नीर शाह आफ्नो फिल्म 'कमला मिस'को प्रिमियरमा एक्लो; रित्तो हल, खल्लो माहोल

काठमाडौं : नीर शाह नेपाली फिल्म क्षेत्रका यस्ता हस्ती हुन्, जसले अभिनय र निर्देशनबाट मात्र होइन, धेरैलाई ‘सेलिब्रेटी’ बनाएर गुन पनि लगाएका छन्। तर, उनकै निर्देशनमा झण्डै एक दशकपछि निर्माण भएको फिल्म ‘कमला मिस’को प्रिमियरमा भने फिल्मकर्मीको उपस्थिति निकै फितलो देखियो। 

सोमबार हात्तीसारस्थित जय नेपाल हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकार र प्राविधिकबाहेक चिनिएका अनुहारको खडेरी नै देखिन्थ्यो। साढे ४ बजेका लागि तय गरिएको प्रिमियर कार्यक्रम सम्भवतः कोही नाम चलेका कलाकार आउलान् कि भन्ने आशामा लामो समय रोकियो। 

अन्ततः करिब डेढ घण्टा ढिलो गरी बेलुका ६ बजेर ७ मिनेटमा मात्र फिल्म ‘कमला मिस’को प्रदर्शन सुरु भयो। प्रिमियरको माहोल उत्साहजनक थिएन। निर्देशक शाह आफैँले हलमा उपस्थित सीमित फिल्मकर्मी र प्राविधिकको नाम लिएर सम्बोधन गरिरहँदा उनको हाउभाउमा खासै चमक देखिएन।

फिल्म क्षेत्रका समकालीन र नयाँ पुस्ताका चर्चित अनुहारहरूको अनुपस्थितिले कार्यक्रम नै ‘खल्लो’ बनेको भान हुन्थ्यो। प्रिमियरमा देखिएकी एक मात्र परिचित सेलिब्रेटी थिइन्- गायिका राधिका हमाल। उनी पनि आफ्नी छोरीले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेका कारण पुगेकी थिइन्।

सधैँ मिडियासँग खुलेर कुरा गर्ने स्वभावका नीर शाह यस पटक भने केही गम्भीर र निराश देखिए। फिल्म सकिएपछि उपस्थित मिडियासँग खासै कुरा गर्न नचाही उनी ट्याक्सी चढेर बाहिरिए। पाहुनाका लागि छुट्याइएका सिटहरू समेत आधाभन्दा बढी खाली देखिदा लाग्थ्यो, यतिको हरिबिजोग त यसअघि प्रियियर भएका फिल्महरूमा देखिएको थिएन।

के छ ‘कमला मिस’मा ?
बहुचर्चित साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’बाट फिल्म ‘कमला मिस’मा बाल मनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म हो। 

बालकले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले आफ्नो जीवनमा भोग्नुपरेका संघर्षलाई पर्दामा देख्न सकिन्छ।
 
फिल्ममा निर्देशक नीर शाह आफैले पनि अभिनय गरेका छन्। उनका अलावा रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठान का लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको यो फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।

एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले देशव्यापी रूपमा वितरण गर्ने यो फिल्म आउँदो शुक्रबार (साउन २२)गतेबाट रिलिज हुँदै छ। 

साउन १९, २०८३ मंगलबार २२:५७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।