२११ सदस्य राष्ट्रलाई पत्र लेख्दै माफी माग्ने प्रतिबद्धता जनाएपछि जोगियो फिफा अध्यक्षको पद
एजेन्सी : फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका प्रतियोगिताहरूको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा भएको गल्तीका लागि माफी मागेका छन्।
चौतर्फी आलोचनापछि योजना रद्द गरेका उनले मोरोक्कोमा भएको उच्चस्तरीय बैठकबाट समर्थन जुटाउँदै आफ्नो पद भने सुरक्षित गरेका छन्।
उनीहरूले पत्रमा माफी माग्दै यस्ता गल्ती फेरि नदोहोरिने प्रतिबद्धता जनाएका छन्।
के थियो विवादित योजना ?
इन्फान्टिनोले फिफा फरवार्ड इन्टरप्राइज नामक नयाँ सहायक कम्पनीमार्फत विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने गोप्य योजना ल्याएका थिए।
उक्त प्रस्तावलाई समर्थन गरेबापत उनले सबै फुटबल संघलाई ४ करोड डलर दिने प्रलोभन देखाएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइ (जोशुआ कुश्नर) लाई फाइदा पुग्ने गरी यो योजना ल्याइएको खुलासा भएपछि फिफाभित्रै ठूलो भुइँचालो गएको थियो।
युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले इन्फान्टिनोको नेतृत्वमाथि अविश्वास व्यक्त गर्दै यस योजनालाई अपारदर्शी र शंकास्पद भनेको छ। वेल्स, इंग्ल्यान्ड लगायतका देशले उनको पुनरावृत्तिलाई समर्थन नगर्ने जनाएका छन्।
त्यस्तै, पोर्चुगल, बार्सिलोना तथा रियल मड्रिडका पूर्वस्टार लुइस फिगोले इन्फान्टिनोले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। फिगोले भने, ‘इन्फान्टिनोले फुटबलको गरिमा घटाएका छन्। उनको साख जोगाउन अब ढिला भइसक्यो, तर फुटबललाई अझै जोगाउन सकिन्छ।’
पद कसरी जोगियो ?
युरोप र केही अन्य राष्ट्रले चर्को विरोध गरे पनि इन्फान्टिनोलाई एसिया र अफ्रिकी राष्ट्रहरूको बलियो साथ मिलेको छ।
इजिप्ट, मोरोक्को, नाइजर, कंगो लगायतका देशले उनलाई समर्थन गरेका छन्। फिफाको कार्यक्रममार्फत लाखौँ डलर आर्थिक सहयोग पाउँदै आएका विकासशील राष्ट्रहरूको मत नै इन्फान्टिनोको सबैभन्दा ठूलो हतियार बनेको छ।
यसैबीच, समर्थन जुटाउन इन्फान्टिनोले मोरोक्कोलाई २०३० को विश्वकप फाइनल आयोजना गर्न दिने वाचा गरेको भन्ने समाचारलाई भने फिफाले भ्रामक भन्दै खण्डन गरेको छ।
सन् २०२७ को मार्चमा फिफा अध्यक्ष पदको चुनाव हुँदैछ। लगातार चौथो कार्यकालका लागि मैदानमा उत्रिने तयारीमा रहेका ५६ वर्षीय इन्फान्टिनोलाई रोक्न यूईएफएलाई सहज छैन।
त्यसका लागि यूईएफएले एसिया र अफ्रिकी राष्ट्रहरूलाई आफ्नो पक्षमा तान्न सक्नुपर्नेछ।
साउन २१, २०८३ बिहीबार ०७:३९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।