फिफा अध्यक्षमाथि ‘ब्ल्याकमेल’को गम्भीर आरोप, चौतर्फी दबाबपछि बोलाए आपतकालीन बैठक
एजेन्सी : फिफाभित्रै आफू संकटमा परेपछि अध्यक्ष जियानी इन्फान्टिनोले आपतकालीन बैठक बोलाएका छन्।
फिफाको व्यावसायिक अधिकार बेच्ने विवादास्पद योजनाको विषयमा छलफल गर्न इन्फान्टिनोले बुधबार मोरक्कोमा फिफाका शीर्ष नेताहरूको आपत्कालीन बैठक बोलाएका हुन्।
फिफाका वरिष्ठ अधिकारीहरूले नै इन्फान्टिनोको उक्त योजनाको खुलेर आलोचना गरेका छन्।
फिफाका ‘ग्लोबल फुटबल डेभलपमेन्ट’ प्रमुख आर्सेन वेङ्गरले आफूलाई यस योजनाबारे मिडियाबाट मात्र थाहा भएको बताउँदै असन्तुष्टि जनाएका छन्। उनले फिफामा पारदर्शिता हुनुपर्ने भन्दै यो योजना खारेज गर्नुको विकल्प नभएको स्पष्ट पारेका छन्।
जोर्डन फुटबल सङ्घका अध्यक्ष राजकुमार अलीले फिफामाथि गम्भीर आरोप लगाएका छन्।
चुनावमा इन्फान्टिनोलाई समर्थन नगरेकै कारण फिफाले जोर्डनले पाउनुपर्ने पुरस्कार राशि रोकेर ‘ब्ल्याकमेल’ गरेको उनको दाबी छ। उनले यस्तो दबाबका अगाडि नझुक्ने बताएका छन्।
फिफाका महासचिव म्याटियस ग्राफस्ट्रोमले कर्मचारीहरूलाई आन्तरिक इमेल पठाउँदै पछिल्लो घटनाक्रम ‘दुःखद र निन्दनीय’ भएको बताएका छन्। यद्यपि, उनले कर्मचारीहरूलाई फिफाको आन्तरिक राजनीतिबाट नआत्तिन आग्रह गरेका छन्।
यसअघि नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले यो योजना ‘फुटबलको भविष्य धरौटीमा राख्ने खराब सम्झौता’ भएको भन्दै राजीनामा दिइसकेका छन्।
चारैतिरबाट दबाब र युरोपेली फुटबल महासङ्घ (युइएफए) ले कानुनी कारबाही गर्ने धम्की दिएपछि हाल यो विवादास्पद योजना रद्द भइसकेको बताइएको छ। तर, यसले फिफाको नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न भने खडा गरेको छ।
साउन २०, २०८३ बुधबार ०७:५५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।