पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं : मनसुनको न्यूनचापीय रेखा नेपालको तराई नजिक सरेसँगै देशभर मनसुन थप सक्रिय भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा हुनेछ।

हाल बागमती र गण्डकीका केही तथा कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

विभागले आज दिउँसो र राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ‘भारीदेखि धेरै भारी’ वर्षा हुने चेतावनी दिएको छ।

यी प्रदेशका तराईदेखि पहाडसम्मकै केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान छ।

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ भने देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।

साउन २१, २०८३ बिहीबार ०७:०८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।