‘आ बाट आमा २’ को छायाँकन नसकिदै अस्ताए भारतीय कलाकार प्रदीप रावत

‘आ बाट आमा २’ को छायाँकन नसकिदै अस्ताए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं : भारतीय चलचित्र नगरीमा गजनी फिल्मबाट चर्चामा आएका भारतीय कलाकार प्रदीप रावतको मंगलबार निधन भयो। हिन्दी, तेलुगु, तमिल मात्रै हैन उनले नेपाली फिल्ममा समेत अभिनय गरेका छन्। चार दशकभन्दा लामो समय अभिनयमा सक्रिय रावतको ७४ वर्षको उमेरमा निधन भयो।

उनले नेपाली फिल्म ह्रश्वदीर्घ र आ बाट आमामा अभिनय गरेका थिए। व्यवसायीक रूपमा दुवै फिल्म त्यति सफल भएनन्। रावतले नेपाली फिल्म ‘आ बाट आमा २’को केही सुटिङ गरिसकेका थिए भने केही सुटिङ अझैँ बाँकी छ। यस फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसालीका अनुसार प्रदीपको अधिकांश दृश्य खिचिए पनि केही टच दृश्य बाँकी रहेको बताए। उकेरासँगको कुराकानीमा उनले भने,‘प्रदीप रावतको अधिकांश दृश्य सकिएको छ। केही थपथाप या नमिलेको ठाउँमा उहाँको दृश्य खिच्नु पर्यो भने अभाव देखिन सक्छ। उहाँको डबिङको काम बाहेक सकिएको छ।’

उनको यस फिल्ममा स्वर अन्य कलाकारले डब गर्नुपर्ने भएको छ। अघिल्लो फिल्ममा पनि उनको स्वर अरू कलाकारले दिएका थिए। जसका कारण उनको लिप्सिङसँग सुट गरेको देखिँदैन थियो।  यो फिल्मको नेपालमा खिचिने दृश्य सकिएपछि निर्देशक चन्द्र पन्त र अभिनेता पल शाह फिल्मको केही दृश्य खिच्नका लागि लन्डन पुगेका छन्। उनीहरू फिल्मको छायाङ्कन सकेर नेपाल फर्कने तयारीमा रहेको बुझिएको छ।  

निर्देशक पन्तकै कथामा निर्माण भएको यस फिल्ममा प्रदीप रावत,पलका अलवा निकिता आचार्य,आकाश श्रेष्ठ,बिपना थापा, प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,सबिर श्रेष्ठ,नरेन खड्का लगायतले अभिनय गरेका छन्। आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्मको  प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् भने फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ। 

साउन २०, २०८३ बुधबार २१:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।