मन्त्रिपरिषद् बैठकका निर्णयहरू: लगानी बोर्डको सिइओमा याङ्की उक्याब, दुई संस्था गाभिने

मन्त्रिपरिषद् बैठकका निर्णयहरू: लगानी बोर्डको सिइओमा याङ्की उक्याब, दुई संस्था गाभिने

काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गर्दै सार्वजनिक र प्रशासनिक क्षेत्र सुधारका विविध निर्णयहरू गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गरिएको छ। साथै, सो समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति प्रदान गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्क बहादुर केसी र सचिव पदमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा लागू गरिने भएको छ।

महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति  तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय गरिएको छ।

साउन २०, २०८३ बुधबार १३:४३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।