नबिल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, लाभांश क्षमता १९ प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, लाभांश क्षमता १९ प्रतिशत पुग्यो

काठमाडौं : निष्क्रिय कर्जा नियन्त्रण र सञ्चालन आम्दानीमा आएको वृद्धिसँगै नबिल बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर सात अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा अधिकांश वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखिएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी बढ्नु र कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नु मुख्य कारण बनेको छ। अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, बैंकको इम्पेयरमेन्ट चार्ज चार अर्ब २० करोड रुपैयाँबाट घटेर दुई अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। यसले बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढाएर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

वित्तीय सूचकहरूमा आएको सुधारसँगै बैंकको लाभांश वितरण क्षमता पनि बढेको छ। नियामकीय समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा पुगेको छ। 

समीक्षा अवधिमा बैंकको निक्षेप र कर्जा दुवै दोहोरो अंकले बढेका छन्। ग्राहक निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति १५.३८ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र विभिन्न जगेडा कोषसहित कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।सम्पत्ति गुणस्तरतर्फ पनि बैंकले सुधार देखाएको छ। खराब कर्जा अनुपात (एनपीएल) ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ भने नेट एनपीएल ०.५८ प्रतिशतमा सीमित रहेको छ। 

चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार ७१५ रुपैयाँ ५० पैसा तथा तरलता अनुपात २८.८७ प्रतिशत कायम भएको छ।

साउन २०, २०८३ बुधबार १०:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।