कोरोनाकालमा स्थापित ‘सनसाइन फुड्स’ : दैनिक ८० टन खानेतेल भारत निर्यात, तीन सय जनालाई रोजगारी

कोरोनाकालमा स्थापित ‘सनसाइन फुड्स’ : दैनिक ८० टन खानेतेल भारत निर्यात, तीन सय जनालाई रोजगारी

बुटवल : कोरोना महामारीका कारण अधिकांश उद्योग-व्यवसाय अस्तव्यस्त बनेका बेला रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्थापना भएको ‘सनसाइन फुड्स प्रालि’ले उत्पादन सुरू गरेको छोटो अवधिमै भारतसम्म निर्यात थालेको छ।

यस उद्योगले ‘माया’ ब्रान्डमा सोयाबिन, सनफ्लावर, तोरी र पाम गरी चार प्रकारका प्रशोधित खानेतेल उत्पादन गर्दै आएको छ।

उद्योगसँग दैनिक करिब सय टन सोयाबिन र पाम तेल, ५० टन सनफ्लावर तथा २५ टन तोरीको तेल उत्पादन गर्न सक्ने क्षमता छ। यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात गर्ने गरिएको छ।

दैनिक ८० टन निर्यात
स्वदेशी बजारमा मात्र सीमित नभई उद्योगले भारतीय बजारमा समेत नियमित रूपमा खानेतेल निर्यात गरिरहेको छ। उद्योगको तथ्याङ्कअनुसार दैनिक करिब ८० टनसम्म तेल भारत पठाइने गरिएको छ।

यद्यपि, निर्यात प्रक्रियामा रहेका केही प्रशासनिक जटिलताले चुनौती थपेको उद्योगका अध्यक्ष मोहन बनियाँ बताउँछन्। विशेषगरी भारततर्फ पठाइने उत्पादनको प्रयोगशाला परीक्षण, ढुवानीको लामो प्रक्रिया, पार्किङ खर्च र समय व्यवस्थापनले लागत बढाउने गरेको उनको भनाइ छ।

स्वदेशभित्र भने यो तेल लुम्बिनी प्रदेशका साथै काठमाडौं, बाँके, बर्दिया, सुर्खेत, गुल्मी र रोल्पालगायतका जिल्लामा बिक्रीवितरण भइरहेको छ।

उद्योगमा जापान, स्विडेन र भारतबाट ल्याइएका अत्याधुनिक उपकरण जडान गरिएका छन्।

सम्पूर्ण प्रशोधन र प्याकेजिङ स्वचालित प्रणाली (अटोमेटेड) बाट हुने भएकाले उत्पादनको गुणस्तरमा एकरूपता कायम रहेको उद्योगको दाबी छ। हाल उद्योग सञ्चालनसँगै तीन सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

‘अमेरिका गएको छोरो फर्कियो’
लकडाउनको समयमा बजार र आवतजावत बन्द हुनु, उच्च ब्याजदर र विदेशबाट उपकरण ल्याउन कठिन हुनेजस्ता चुनौतीका बीच यो उद्योग स्थापना गरिएको थियो।

अध्यक्ष बनियाँ भन्छन्, ‘कोरोनाको समयमा खाद्यान्नसँग सम्बन्धित उद्योग खोल्ने सोच आयो। साथीहरूले भैरहवा क्षेत्रमा खानेतेल उद्योगको सम्भावना रहेको बताए। परिवारको साथ, साथीहरूको सल्लाह र आफ्नै आत्मविश्वासले आज त्यो सोच सफल भएको छ।’

उद्योग सुरु भएपछि सूचना प्रविधिको अध्ययनका लागि अमेरिका पुगेका उनका जेठा छोरा अनमोल पनि स्वदेश फर्किएर व्यवसायको नेतृत्वमा जोडिएका छन्।

‘छोरा अमेरिकामै बस्ने हो कि भन्ने चिन्ता थियो। उद्योग स्थापना भएपछि उनी नेपाल फर्किएर उद्योग सम्हाल्न थाले। त्यो मेरो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो खुसीमध्ये एक हो’, बनियाँले भने।

उत्पादनको गुणस्तरप्रति आफू पूर्ण विश्वस्त रहेको बताउँदै उनी थप्छन्, ‘मेरो आफ्नै घरको भान्सामा पनि माया ब्रान्डकै तेल प्रयोग हुन्छ। आफ्नै परिवारले प्रयोग गर्ने उत्पादन भएकाले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौँ। यदि कुनै गुनासो आयो भने त्यसलाई तुरुन्त सुधार्छौं।’

साउन २०, २०८३ बुधबार ०९:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।