मेहता परिवारसँग सरकारको छलफल सकारात्मक, भोलि फेरि वार्ता

मेहता परिवारसँग सरकारको छलफल सकारात्मक, भोलि फेरि वार्ता

काठमाडौं : सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ।

यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो।

उपचारका क्रममा मृत्यु भएपछि मेहताको परिवारसँग वार्ता गर्न गृहमन्त्री गुरुङ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका थिए। 

छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।

मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री गुरुङले आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए। वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताए।

उनीहरूले अहिले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएको गृहमन्त्री गुरुङको सचिवालयले भनेको छ। सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको छ। 

साउन १९, २०८३ मंगलबार २१:४९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।