व्यवसायी मुन्दडाको घरमा छापा मार्ने एसपीलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौँ : एकाबिहानै घेरा हालेर विराटनगरका व्यवसायी प्रकाश मुन्दडाको घरमा छापा हानेको विषयले मोरङका एसपी कवित कटवाल विवादमा तानिएका छन्। सोमबार एका बिहानै कटवालको नेतृत्वमा गएको प्रहरीको टोलीले मुन्दडाको घरसहित सडकमार्ग घेरा हालेर छापा मारेको थियो। तर छापामा केही बरामद नभएपछि प्रहरी रित्तै फर्किएको थियो।
व्यवसायीमाथि सरकारको व्यवहारको निरन्तर आलोचना भइरहेको बेला कटवालको सो कामले थप आलोचना बढ्यो। सरकार व्यवसायीहरूलाई त्रासमा राख्न यस्ता गतिविधि गरेको भन्दै आलोचना बढेपछि मंगलबार कोशी प्रदेश प्रहरी कार्यालयले कटवालसँग लिखित स्पष्टीकरण सोधेको छ। यसले छापा मार्दा एसपी कटवालले प्रदेश प्रहरी कार्यालयसँग समन्वय नगरेको खुल्यो।
जानकारस्रोतका अनुसार २४ घण्टा समय दिएर सोधिएको स्पष्टीकरणमा व्यवसायीको घरमा खानतलासी गर्नु अगाडि प्रहरीले प्राप्त गरेको सूचना, प्रारम्भिक तथ्य, प्रक्रियाबारे सोधिएको छ।
प्रहरी टोली बिहान ४ बजे परिचालन भएको थियो। छापामारी सकिएपछि एसपी कटवालले अवैध नगद रहेको सूचनाको आधारमा छापा मारेको तर छापा मार्दा त्यस्तो शंकास्पद केही फेला नपरेको दाबी गरेका थिए।
साउन १९, २०८३ मंगलबार १९:२०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।