एक लाख घुससहित म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत पक्राउ
काठमाडौं : नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
तामाङले गाउँपालिकाबाट भुक्तानी हुनुपर्ने रकम निकासा गरिदिने बहानामा कमिसनको बार्गेनिङ गर्दै पटक-पटक सेवाग्राहीलाई दु:ख-हैरानी दिएको र रकम माग गरिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।
आयोगका अनुसार अदालतबाट म्याद थप गरी तामाङमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
साउन १९, २०८३ मंगलबार १७:१५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।