एनएमबि बैंकको खुद नाफा ४ अर्ब नाघ्यो
काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा चार अर्बभन्दा बढी खुद नाफा कमाएको छ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार पहिलोपटक बैंकको वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँ नाघेको छ।
बैंकका अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको दुई अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६ प्रतिशतले वृद्धि भई चार अर्ब एक करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा एक अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति सेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत कायम भएको छ।
यस्तै, प्रभावकारी वासलात व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर नौ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ कारोबारमा भएको वृद्धिसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर दुई अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
बैंकका अनुसार पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा पूँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत पुगेको छ।
साउन १९, २०८३ मंगलबार १६:५४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।