मधेसमा गोली चलाउने राज्यको प्रवृत्ति रहेको आरोप, सुरक्षा रणनीतिमाथि रास्वपा सांसदको प्रश्न

मधेसमा गोली चलाउने राज्यको प्रवृत्ति रहेको आरोप, सुरक्षा रणनीतिमाथि रास्वपा सांसदको प्रश्न

काठमाडौं : कोशीको सुनसरीबाट सुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको विवादका क्रममा सुरक्षा निकायले गोली चलाएको विषयलाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्रबाट विरोध भइरहेको छ।

सामान्य विवाद सुल्झाउन संवादको साटो गोलीको भाषा प्रयोग गरिएको भनेर मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरूले आलोचना गरे। 

रास्वपाका सांसद शिवशंकर यादवले मदेसका नागरिकमाथि भइरहेको बल प्रयोगको भर्त्सना गरे। मधेशमा लामो समयदेखि सामान्य विषयमै पनि नागरिकको ज्यान लिने गरी गोली प्रहार गर्ने प्रवृत्ति बढिरहेकोमा उनले असन्तोष व्यक्त गरे।

उनले भने "लामो समय देखि मदेसका नागरिक माथि जुन सामान्य विवादमा पनि गोली प्रहार गर्ने जुन प्रवृत्ति बढिरहेको छ, त्यसको म घोर भर्त्सना गर्न चाहन्छु। लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षा भन्दा कुनै पनि ठुलो कुनै पनि विषय हुन सक्दैन। दुई पक्ष बिचको विवादमा पनि सामान्य विवादहरूमा पनि जुन गोली चलाउने प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ।"

दुई पक्षबीचको सामान्य विवादमा राज्यले समाधानकारी भूमिका खेल्नुको साटो एकतर्फी रूपमा हतियार प्रयोग गरेर लोकतान्त्रिक मूल्य र मान्यता विपरीतका गतिविधि भएको उनको भनाइ छ। सुनसरी र सिराहाका घटनास्थलमा आफूले अवलोकन गर्दा त्यहाँ गोली चलाउनुपर्ने अवस्था नदेखेको उनको भनाइ छ। यादवले भिड नियन्त्रण गर्ने बहानामा सिधै टाउको र छाती ताकेर गोली प्रहार गरिएकोमा आक्रोश गरे। 

"सुनसरी र सिराहाको गोलबजारको पनि घटना स्थलमा पुगेको छु। कुनै पनि स्थानमा गोली चलाउने अवस्थाको सिर्जना मैले देखेको थिइन," उनले भने, "कुनै पनि स्थानमा तपाईंको टाउको र छातीमा गोली हानेर घटनालाई साम्य पार्ने सक्ने त्यो अवस्था थिएन, तैपनि गोली प्रहार भएको छ। त्यसको निन्दा गर्न चाहन्छु।"

त्यस्तै रास्वपाका सांसद अमरेश कुमार सिंहले पनि मधेसमा प्रहरीले जहिले पनि गोली चलाइहाल्ने भन्दै सरकारको सुरक्षा रणनीतिबारे गम्भीर प्रश्न उठाए। मधेसमा केही समुदायको आन्दोलन हुँदा जहिले पनि गोली मात्रै किन चल्ने गरेको भन्दै उनले सुरक्षा रणनीति र प्रहरीको भिड नियन्त्रण विधिमाथि गम्भीर प्रश्न गरे। उनले प्रहरीलाई भिड नियन्त्रणका लागि एसएलआर दिने विश्वकै पहिलो देश होला भन्दै प्रश्न गरे "प्रहरीलाई किन एसएलआर दिएको?"

"राज्यसँग मेरो प्रश्न छ, मधेसमा आन्दोलन हुँदा लाठी किन चल्दैन, टियरग्याँस किन चल्दैन? गोली किन चल्छ ?" उनले भने प्रहरीलाई कसैले ढुंगा हान्यो भने पनि गोली हान्छन्। उसलाई टियरग्याँस र लाठी दिइएको छैन।" 

उनले सरकारसँग टियरग्याँस र लाठीको व्यवस्था गर्न माग गर्दै मधेसलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य गर्न माग गर्दै भने, "मधेसले धेरै सहन सक्दैन।"  

साउन १९, २०८३ मंगलबार १५:५३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।