सरकारी अस्पतालहरूमा रेबिज खोपको हाहाकार छ, तर निजीमा सजिलै पाइन्छ : सांसद कुँवर
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले सरकारी अस्पतालहरूमा रेबिज विरुद्धको खोप नपाएर सर्वसाधारण नागरिकहरू भौँतारिनुपरेको तर त्यही खोप निजी क्लिनिकमा महँगो मूल्यमा सजिलै पाइने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कुँवरले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खोप र औषधिको आपूर्ति व्यवस्थामा चरम लापरवाही देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सरकारी स्वास्थ्य संस्थामा औषधि नै नहुनु र निजीमा महँगोमा सजिलै पाइनुले गम्भीर शङ्का उब्जाएको उनले बताइन्।
"मलाई एउटा कुरा अलि अचम्म पनि लाग्यो। सरकारी अस्पतालमा रेबिज विरुद्धको खोपको हाहाकार छ, तर त्यही खोप अलिकति महँगो मूल्य तिर्दा निजी क्लिनिकहरूमा सजिलै उपलब्ध छ," सांसद कुँवरले प्रश्न गरिन्, "क्यान्सर रोगका अति आवश्यक केही औषधिहरु पनि बजारमा अभाव रहेको गुनासो आइरहेको छ। मेरो सरकारसँग सिधा प्रश्न छ, यो कृत्रिम अभाव हो कि सरकारले व्यवस्था गर्दागर्दै पनि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्न नसकेको हो?"
त्यस्तै, सांसद कुँवरले सर्वसाधारणले उपभोग्य वस्तु पाउन भोग्नुपरेको सास्तीबारे बोल्दै दैनिक उपभोग्य खाना पकाउने ग्यासको सहज आपूर्ति गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
"आम नागरिकले एउटा ग्यास सिलिण्डर पाउन पनि दिनभर लामो लाइन बस्नुपर्ने पीडादायी अवस्था छ । यसको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘म अत्यन्त गम्भीरताका साथ भन्न चाहन्छु– सरकारले दिन खोजेको सेवा र नागरिकले पाउनु पर्ने सेवा बीच यत्रो ठूलो ग्याप किन भइरहेको छ?"
यी दीर्घकालीन प्रकृतिका समस्याहरू भएको उल्लेख गर्दै उनले गम्भीरतापूर्वक समस्याको समाधान गर्न आग्रह गरिन्।
"यी कुनै आज मात्र उत्पन्न भएका नयाँ समस्याहरु होइनन्।" उनले थपिन्, "यस्तो अवस्था किन र कसरी सिर्जना भइरहेको छ भन्ने विषयमा सरकारले गहिरिएर अध्ययन गर्दै जिम्मेवारीपूर्वक समाधानको पहल गरियोस्।"
साउन १९, २०८३ मंगलबार १५:३१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।