रास्वपा सांसद अमरेशले सुनसरी घटनाबारे पार्टी सभापति रविको प्रशंसा गरे, प्रधानमन्त्री वालेन्द्रको आलोचना

रास्वपा सांसद अमरेशले सुनसरी घटनाबारे पार्टी सभापति रविको प्रशंसा गरे, प्रधानमन्त्री वालेन्द्रको आलोचना

काठमाडौं : सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले मधेसमा प्रहरीले जहिले पनि गोली चलाइहाल्ने भन्दै सरकारको सुरक्षा रणनीतिबारे गम्भीर प्रश्न उठाएका छन्। उनले मंगलबार प्रतिनिधि सभामा बोल्दै मधेसमा केही समुदायको आन्दोलन हुँदा जहिले पनि गोली मात्रै किन चल्ने गरेको बताए।

घटनामा चार जना युवाको मृत्यु भएकोमा उनले दुख व्यक्त गर्दै सरकारको सुरक्षा रणनीति र प्रहरीको भिड नियन्त्रण विधिमाथि गम्भीर प्रश्न गरेका थिए। उनले प्रहरीलाई भिड नियन्त्रणका लागि एसएलआर दिने विश्वकै पहिलो देश होला भन्दै प्रश्न गरे "प्रहरीलाई किन एसएलआर दिएको?"

"राज्यसँग मेरो प्रश्न छ, मधेसमा आन्दोलन हुँदा लाठी किन चल्दैन, टियरग्याँस किन चल्दैन? गोली किन चल्छ ?" उनले भने प्रहरीलाई कसैले ढुंगा हान्यो भने पनि गोली हान्छन्। उसलाई टियरग्याँस र लाठी दिइएको छैन।"

उनले सरकारसँग टियरग्याँस र लाठीको व्यवस्था गर्न माग गर्दै मधेसलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य गर्न माग गर्दै भने "मधेसले धेरै सहन सक्दैन।" 

उनले संसदमा सुनसरी घटनाको सन्दर्भमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेको भनेर धन्यवाद दिए तर उनले प्रधानमन्त्रीको भने आलोचना गरे। उनले आफू त्यही भूगोल र त्यही समुदायको सांसद भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले ढिलै भए पनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो। वास्तवमा त्यो पहिला गर्नुपर्ने थियो।"

साउन १९, २०८३ मंगलबार १४:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।