गीता र कुरानले कुनै धर्मप्रति भेदभाव गर्न सिकाउँदैन : ताहिर अली भाट
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले नेपालमा सदियौंदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भाटले मधेशमा देखिएको साम्प्रदायिक तनावका सन्दर्भमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गर्दै हिंसाले कसैको पनि भलो नगर्ने बताए।
उनले गीता र कुरानका श्लोक तथा आयतहरू उद्धृत गर्दै कुनै पनि धर्मले अरू धर्म वा समुदायप्रति घृणा फैलाउन नसिकाउने बताए।
"गीतामा 'वसुधैव कुटुम्बकम्' र 'सर्वे भवन्तु सुखिनः' भनिएको छ। ईश्वरले सबै प्राणी एउटै परिवारका हुन् र सबै सुखी हुन् भन्ने चाहनुहुन्छ। गीतामा कुनै पनि मुस्लिम वा अन्य धर्मका मानिस सुखी नहोऊन् भनेर लेखिएको छैन," उनले भने।
त्यसैगरी कुरानको सन्दर्भ जोड्दै उनले भने, "कुरानमा 'अलहम्दुलिल्लाहि रब्बिल आलमीन' भनिएको छ, जसको अर्थ अल्लाह सारा संसार र प्राणी जगतका मालिक हुन् भन्ने हुन्छ। त्यहाँ केवल मुसलमानका लागि मात्र अल्लाह हुन् भनेर कतै लेखिएको छैन।"
नेपालमा सदियौँदेखि हिन्दू र मुस्लिम समुदायबीच सहअस्तित्व र भ्रातृत्व रहँदै आएको स्मरण गराउँदै उनले पछिल्ला घटनाहरू नेपालको राष्ट्रिय एकता र अखण्डतामा खलल पुर्याउने प्रकृतिका भएको बताए।
सांसद भाटले मधेसमा उत्पन्न तनावग्रस्त स्थिति नियन्त्रणमा लिन गृहमन्त्री सुधन गुरुङले खेलेको भूमिकाको प्रशंसा गरे। "हामी प्रतिपक्षमा भए पनि सकारात्मक कामको समर्थन गर्नुपर्छ। अशान्तिको समयमा आफैँ पुगेर समस्या समाधानको थालनी गर्नुभएकोमा गृहमन्त्रीज्यूलाई धन्यवाद दिनैपर्छ," उनले भने।
साथै, राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको अवधारणा कुनै पनि धर्म वा समुदायको विरुद्धमा नरहेको स्पष्ट पार्दै उनले यो अवधारणा ‘सर्वधर्म समभाव’ र सबै धर्मप्रतिको सम्मानमा आधारित रहेको दाबी गरे।
आफू मुस्लिमको छोरा भएर पनि राप्रपामै रहेको उल्लेख गर्दै उनले भने, "विश्वमा क्रिस्चियन, बौद्ध लगायत विभिन्न धर्मका नाममा देशहरू छन्। डेढ अर्ब हिन्दूहरूको आफ्नै पहिचानको राष्ट्र छैन। राप्रपाले हिंसात्मक होइन, सबै धर्म र समुदायलाई समेट्ने र विभेद अन्त्य गर्ने पहिचानको रूपमा मात्र हिन्दू राष्ट्रको माग गरेको हो।"
उनले 'सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली' भन्ने राष्ट्रिय भावनालाई आत्मसात् गर्दै गाउँ-गाउँमा सद्भावको सन्देश पुर्याउन र देशलाई कमजोर हुन नदिन सबै पक्षसँग आग्रह गरे।
साउन १९, २०८३ मंगलबार १४:३३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।