एमाले बाहिरिएपछि बागमती प्रदेशमा बहुमतको सास्ती, निर्णायक बन्दै साना दल

एमाले बाहिरिएपछि बागमती प्रदेशमा बहुमतको सास्ती, निर्णायक बन्दै साना दल

बागमती : बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रमुख राजनीतिक दलले साना दलहरूसँगको संवाद र छलफललाई तीव्र पारेका छन्। 

१०४ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि आवश्यक ५३ सांसदको स्पष्ट बहुमत जुटाउन एमाले-नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको लागि अन्य साना दलहरूसँग साझेदारीको प्रयासलाई अघि बढाएका हुन्।

कांग्रेस नेतृत्वमा रहेको केन्द्रमा एमालेले नेकपासँग मिलेर प्रदेशहरूमा सरकार गठन गर्ने समझदारी गरेसँगै यहाँ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, दुई दलबीचको साझेदारीले मात्र यहाँ सरकार गठनको लागि आवश्यक संख्या नपुग्दा उनीहरूले अन्य दलसँग पनि छलफल गरिरहेका छन्।

सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए।  “सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रूपमा अघि बढेको छ”, उनले भने, “सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ।”

नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलहरूसँग छलफल गरेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिए। मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठन गर्न स्पष्ट बहुमत जुटाउन वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गर्दै राजनीतिक अन्योलताको अन्त्य गर्न आग्रह गरेका छन्।

बागमती प्रदेश सभामा कांग्रेस, एमाले, नेकपालगायतका छ दलको उपस्थिति छ। सिट सङ्ख्याका आधारमा प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसको ३६ सिट छ भने नेकपाको २६ र एमालेको २५ सिट छ। त्यस्तै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ। 

बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्तासहित एमाले बाहिरिए पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्न नसक्दा सरकार निर्माणले निष्कर्ष पाउन सकेको छैन।

नेपालका पुराना राजनीतिक शक्तिका रूपमा रहेका नेपाली कांग्रेस र एमालेले प्रदेशमा अन्य दलको समर्थन लिएर आ-आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास जारी रहेको बताइएको छ। 

साउन १९, २०८३ मंगलबार १४:२७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।