प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतको हेपाहा प्रवृत्ति बढ्यो : सांसद शर्मा
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले राष्ट्रियता, सीमा सुरक्षा, शान्ति-सुरक्षा र सुशासनका विषयमा सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले सीमा क्षेत्रमा वैदेशिक हस्तक्षेप बढ्दा पनि सरकार लाचार बनेको र प्रधानमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाइन्।
सांसद शर्माले यही साउन १७ गते नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरू सादा पोशाकमा नेपाली भूभागमा प्रवेश गरी स्थानीय नागरिकहरूले बनाएको माटोको अस्थायी बाँध जबर्दस्ती भत्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराइन्।
प्रधानमन्त्रीले केही समयअघि संसदको रोस्टममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने विवादित अभिव्यक्ति दिएकै कारण सीमा क्षेत्रमा भारतीय बलको हेपाहा प्रवृत्ति बढेको शर्माको दाबी छ।
उनले उक्त विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र राष्ट्रियताको सवालमा प्रधानमन्त्रीले संसदमा आएर स्पष्टीकरण दिनुपर्ने माग गरिन्।
शर्माले भनिन्, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरादेखि दर्जनौँ ठाउँमा भूमि अतिक्रमण भइरहेको छ। हाम्रा नागरिक आफ्नै माटो जोगाउन ढाल बनेर उभिएका छन्। तर, जनता सीमामा लडिरहँदा यो सरकार के हेरेर बसिरहेको छ?’
सुनसरीको देवानन्दगञ्जमा भएको घटना र त्यसपछि फैलिएको साम्प्रदायिक तनावको प्रसङ्ग उठाउँदै सांसद शर्माले मुलुकमा संकट पर्दा प्रधानमन्त्री भौतिक रूपमा नागरिकका माझ जानुको सट्टा टेलिभिजन र सामाजिक सञ्जालमा मात्र सीमित भएको टिप्पणी गरिन्।
यसैगरी, सरकारले सुशासन र समृद्धिको नारा दिए पनि अर्थतन्त्र धराशायी बनेको, उद्योगी-व्यवसायी र निर्माण व्यवसायीहरूलाई आतङ्कित पारिएको, स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरिएको र संवैधानिक निकायहरूलाई तर्साउने काम भएको आरोप उनले लगाइन्।
यसका अलावा सांसद शर्माले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स) सहित ११ जना आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन्।
साउन १९, २०८३ मंगलबार १३:४९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।