सुनसरी घटना : खुट्टामा गोली लागेका रवीन्द्रको संक्रमणका कारण मृत्यु

सुनसरी घटना : खुट्टामा गोली लागेका रवीन्द्रको संक्रमणका कारण मृत्यु
फाइल तस्बिर

काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ। योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

१० साउन राति प्रहरीको गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बायाँ तिघ्रामा गोली लागेर घाइते भएका रवीन्द्रलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट शुक्रबार काठमाडौंको टिचिङ अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको बायाँ खुट्टा काटिएको थियो।

अस्पतालका प्रवक्ता गोपाल सेढाइँले उकेरासँग कुरा गर्दै भने, ‘गोली लागेको बायाँ खुट्टा काटेर उपचारका लागि यहाँ ल्याइएका उहाँको संक्रमणका कारण आज उपचारकै क्रममा मृत्यु भयो।’

यसअघि १० साउनको घटनामै गोली लागेर देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन र देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो।

गत शुक्रबार सरकारसँग सातबुँदे सहमति भएपछि उनीहरूको अन्त्येष्टि गरिएको थियो। उक्त घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।

घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको काठमाडौं र विराटनगरका अस्पतालहरूमा उपचार भइरहेको छ।

साउन १९, २०८३ मंगलबार १२:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।