प्रतिनिधिसभा बैठक आज : भीष्मराज आङ्देम्बेले सुकुम्वासी समस्याबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आव २०८१/८२)’ पेस गर्ने कार्यसूची छ।
यसैगरी, बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन तथा सुकुम्वासीको पहिचान, सुरक्षित आवास, उचित क्षतिपूर्ति र यथाशीघ्र लालपुर्जा वितरणको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नेछन्।
यस प्रस्तावमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईको समर्थन रहेको छ।
पाँच संसदीय समितिको बैठक पनि आजै
संसद् सचिवालयका अनुसार आजै विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्।
बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन विधेयकमाथि दफावार छलफल हुनेछ भने १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल हुनेछ।
त्यसैगरी ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयक (२०८३) माथि छलफल तथा कार्यविधि मस्यौदा उपसमितिको प्रतिवेदनमाथि विचार-विमर्श अनि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ।
यसका अलावा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारी आश्वासनका विषयमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल हुनेछ।
साउन १९, २०८३ मंगलबार ०७:२०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।